काठमाण्डु– पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय र अमेरिकी साइबर सेक्युरिटी कम्पनीबीच एक समझदारी भएको छ ।
पूर्वान्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन भोलानाथ घिमिरे र युएसएको लस एन्जल्स स्थित रिसेक्युरिटी कम्पनीका बिजिनेस हेड राजन राज पन्तले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
विश्वविद्यालयअन्तर्गत कम्प्युटर इन्जिनियरिङ र सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुले अब कम्पनीमा पेड इन्टर्नसिप गर्न पाउनेछन्।
सम्झौता कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया, विश्वविद्यालयका अन्य पदाधिकारीहरू, तथा हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक गोपीकृष्ण न्यौपानेको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै रिसेक्युरिटीका बिजनेस हेड पन्तले विश्वभर आइटी जनशक्तिको माग तीव्र रुपमा बढिरहेको बताए । उनले भविष्यमा शिक्षकहरुलाई तालिम दिनेदेखि लिएर, विद्यार्थीहरुलाई नवीनतम प्रविधिहरुमा जानकारी दिनेसम्म सहयोग गरिने जानकारी दिए।
डीन भोला घिमिरेले विश्वविद्यालयले आइटी, साइबर सुरक्षा र साइबर कानुन सम्बन्धी विषयहरु समेट्ने गरी पाठ्यक्रम निर्माण गरिसकेको उल्लेख गर्दै यो समझदारी उक्त पाठ्यक्रमको कार्यान्वयनतर्फ एक कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
यस्तै आइटी अध्ययनरत विद्यार्थीहरुले यो अवसरको भरपुर उपयोग गर्न सकुन् भन्ने उद्देश्यले सम्बन्धित कलेजमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको घिमिरेले बताए ।




प्रतिक्रिया