काठमाण्डु – राज्य पुनर्संरचनाका क्रममा दुईवटा जिल्ला टुक्र्याएर चारवटा बनाइएको थियो । तिनैमध्येको एक हो नवलपरासी । एउटा बर्दघाट सुस्ता पूर्व बन्यो भने अर्को पश्चिम । यो कांग्रेस नेता शशांक कोइरालाको निर्वाचन क्षेत्र पनि रहेको जिल्ला हो । परम्परागत रूपमै कांग्रेसको प्रभाव क्षेत्र मानिने नवलपुर क्षेत्रमा चुनावी रौनक बढेको छ ।
नवलपरासी पूर्वमा चार नगरपालिका र चार गाउँपालिका गरी जम्मा आठवटा स्थानीय तह छन् । गत स्थानीय चुनावको परिणामका आधारमा जिल्लामा कांग्रेसकै वर्चस्व छ । उसले आठमध्ये ६ वटा पालिका जितेको थियो । बाँकी दुईवटामा एमालेको नेतृत्व छ ।
कांग्रेसले मध्यविन्दु नगरपालिकाको मेयर–उपमेयरसहित बौंदीकाली, बुलिङटार र विनयी–त्रिवेणी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जितेको थियो । यस्तै, उसले देवचुली नगरपालिकाको मेयर, हुप्सेकोट गाउँपालिकाको अध्यक्ष तथा गैँडाकोट नगरपालिकाको उपमेयर पनि जित्यो ।
एमालेले कावासोती नगरपालिकाको मेयर–उपमेयर, गैँडाकोटको मेयर, देवचुलीको उपमेयर तथा हुप्सेकोटको उपाध्यक्ष जितेको थियो ।कांग्रेसको प्रभाव क्षेत्र मानिएको गैँडाकोटमा गत चुनावमा आश्चर्यजनक रूपमा मेयरमा बाजी मारेको थियो । जिल्लामा माओवादी कमजोर छ । केही पालिकामा भने उसको मत निर्णायक अवस्थामा छ ।
आगामी चुनावका लागि दलहरूले उम्मेदवारी मनोनयन गरेका छन् । सत्ता साझेदार दलबीच केही पालिकामा तालमेल भएको छ । तर, जिल्लाभर नै गठबन्धन भने बनेको छैन । जिल्लाको सबैभन्दा ठूलो पालिका कावासोतीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिएर तालमेल गरेका छन् । गत चुनावमा एमालेले जितेको यो नगरमा कांग्रेस र माओवादीको मत मिलाउँदा बढी थियो ।
त्यसैले यसपटक नतिजा उल्टन पनि सक्ने सम्भावना छ । नवलपरासी पूर्वमा समग्रमा कांग्रेस नै निकै बलियो देखिन्छ । तर, उसले पहिले जितेका केही पालिका गुमाउन सक्छ भने केही नयाँ पालिका जित्न सक्छ ।
कांग्रेस नेताहरू एमाले विभाजन भएकाले पहिले हारेको गैँडाकोट र कावासोती नगरपालिका यसपटक जित्ने बताइरहेका छन् । एमालेले भने पहिले जितेका बचाउँदै देवचुलीलगायतका पालिका थप्ने दाबी गरिरहेको छ । माओवादीलाई भने पालिका प्रमुख जित्न यसपटक पनि मुस्किल देखिन्छ ।
नवलपरासी पूर्वमा आगामी स्थानीय चुनावका लागि २ लाख ५४ हजार ६ सय १५ मतदाता छन् । तीमध्ये १ लाख २१ हजार ३८ पुरुष र १ लाख ३३ हजार ५ सय ७३ महिला छन् । ४ जना अन्य पनि छन् ।












प्रतिक्रिया