‘संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक शिक्षकका माग सम्बोधन हुन्छन्’


काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति, कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक शिक्षकका माग सम्बोधन गरिने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौता कार्यान्यवमा सरकार पूर्ण प्रतिबद्धता रहेको बताए ।

शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउँदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गरिने उनले बताए ।

उनले भने, ‘देशको संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक माग सम्बोधन गर्न सकिन्छ भनेर मैले भनेको छु ।’

असन्तुष्ट शिक्षकले सुुरुमा कर्मचारीसँग वार्ता गर्दैनौं भनेर अडान लिएको र पछि शिक्षामन्त्रीसँग पनि वार्ता गर्दैनौं भनेपछि उपप्रधानमन्त्रीको नेतृत्वमा वार्ता भएको बताए । ‘उहाँहरूका असन्तुष्टि वार्तामार्फत सम्बोधन गर्दै उहाँहरूकै मागअनुसार टुंगो लगाएका छौं । उक्त सम्झौताप्रति सरकार पूर्ण प्रतिबद्धता छ,’ उनले भने ।

संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र राखेर सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement