कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन : चुनावका बेला शान्तिसुरक्षा चुस्त बनाउनू

कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन : चुनावका बेला शान्तिसुरक्षा चुस्त बनाउनू


काठमाण्डु – कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा सदस्य निर्वाचनका बेला शान्तिसुरक्षा चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आज बिहीबार सिंहदरबारमा कार्यबाहक प्रधानमन्त्री खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग सुरक्षास्थितिबारे छलफल गरेका छन् ।

रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका छन् । खड्काले आसन्न राष्ट्रियसभा निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए ।

उनले सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन आग्रह गरे । सो अवसरमा कार्यबाहक प्रधानमन्त्री खड्काले जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिले शान्ति सुरक्षामा पार्नसक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन निर्देशन दिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए पनि विभिन्न तरिकाले सञ्चालित गतिविधिलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाबारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नुपर्ने कदमहरूबारे छलफल गरिएको थियो ।