उपप्रधानमन्त्री खड्काले गरे नेपाली सैनिक प्रतिष्ठानको भ्रमण

उपप्रधानमन्त्री खड्काले गरे नेपाली सैनिक प्रतिष्ठानको भ्रमण


काठमाण्डु – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सैनिक प्रतिष्ठानको भ्रमण गरेका छन् ।

नेपाली सेनाका विभिन्न निकायका गतिविधिबारे जानकारी लिने क्रममा मन्त्री खड्काले आज सोमबार नेपाली सैनिक प्रतिष्ठानको भ्रमण गरेका हुन् ।

चाँगुनारायण नगरपालिकाको खरिपाटी (भक्तपुर) मा अवस्थित प्रतिष्ठान नेपाली सेनाका अधिकृतको आधारभूत तालिम सञ्चालन हुने शिक्षण संस्था रहेको छ ।

सैनिक अधिकृतलाई तालिम प्रदान गर्न विक्रम संवत् २००९ सालमा छाउनीमा स्थापित सैनिक स्कूल २०२२ सालमा सैनिक शिक्षालयको रूपमा नगरकोटमा सरेको थियो । सैनिक अधिकृतहरूको आधारभूत तालिमका लागि बेग्लै शिक्षण संस्थाको आवश्यकता महसूस गरी विक्रम संवत् २०४२ सालमा हालकै स्थानमा शाही नेपाली सैनिक प्रतिष्ठानको स्थापना भएको थियो ।

विक्रम संवत् २०६५ सालदेखि नेपाली सैनिक प्रतिष्ठान नामाकरण भएको संस्थाबाट हालसम्म २५२ जना महिला अधिकृत समेत ५ हजार ३३ जना नेपाली सेनाका अधिकृतहरूले आधारभूत तालिम हासिल गरिसकेका छन् । विभिन्न मित्रराष्ट्रहरूका २४ जना सैनिक अधिकृतहरूले तालिम पूरा गरेका छन् ।

प्रतिष्ठानमा ५६६ पुरुष र ६१ महिला गरी ६२७ जना अधिकृत क्याडेटहरु तालिमरत छन्, जसमा मित्रराष्ट्रका १ महिला र ९ पुरुष समेत १० जना रहेका छन् ।

भ्रमणका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अधिकृतहरूको आधारभूत तालिम लगायतका विषयहरूमा जानकारी गराएका छन् । प्रतिष्ठानका तर्फबाट मन्त्री खड्कासमक्ष अधिकृत क्याडेट तालिमका विविध पक्षहरूबारे प्रस्तुतीकरण भएको थियो ।

मन्त्री खड्काले नेपाली सेनाको सेन्टर फर एक्सलेन्सका रूपमा रहेको प्रतिष्ठानको समग्र उन्नतिमा सरकारको तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

भ्रमण कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।