सिटौलालाई दल नेताबाट हटाएको घटनाबाट स्तब्ध छुः खड्का

सिटौलालाई दल नेताबाट हटाएको घटनाबाट स्तब्ध छुः खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको दल नेताबाट हटाइएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत खड्काले पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने समयमा सिटौलामाथि गरिएको व्यवहारले शुभ संकेत नगरेको बताएका हुन् ।

कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बुधबार राष्ट्रिय सभाका दल नेता सिटौलालाई बर्खास्त गरी कमला पन्तलाई दल नेता तोकेका थिए । प्रतिनिधिसभाको दल नेताले राष्ट्रिय सभाको दल नेता चुन्ने प्रचलन छ ।

यसअघि दल नेता रहेका पूर्वसभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभाको दल नेताको जिम्मेवारी दिएका थिए । सिटौला विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिसँग सहमत थिएनन् ।

‘राष्ट्रियसभामा नेपाली कांग्रेसको संसदीय दलको नेता मनोनयन गर्ने, परिवर्तन गर्ने अधिकार संसदीय दलको विधानअनुसार संसदीयदलको नेतालाई दिएको छ, यसमा पनि म प्रष्ट छु तर देशको राष्ट्रियतामाथि जुन संकटको कालोबादल मडारिएको छ, पार्टी जुन अवस्थामा आज विवादको दलदलमा फसेको छ, मन विभाजित छ’, खड्काले लेखेका छन्, ‘यस्तो अवस्थामा कांग्रेसको सम्पूर्ण एकताको पहल गर्नुपर्ने जिम्मेवारीमा भएकाहरूबाट हतारमा पार्टीको एक अनुभवी अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसम्म नराखी पूर्वजानकारी बिना नै हठात् हटाउने निर्णय गरियो भन्ने जानकारी पाउँदा स्तब्ध छु ।’

पार्टीको सम्पूर्ण एकताको अपरिहार्य आवश्यकताको महत्त्वपूर्ण क्षणमा हतारको निर्णय कदापि शुभ संकेत नभएको आफ्नो ठम्याई रहेको खड्काको भनाइ थियो । ‘सबै सचेत बनौं, सतर्क हौं, मेरो आग्रह मेरो अनुरोध अनि मेरो आह्वान सम्बन्धित सबैमा,’ खड्काले अगाडि लेखेका छन् ।