आफू निकट नेताहरुसँग अध्यक्ष प्रचण्डको ब्रिफिङः म पदमोहमा हिँडेको छैन !


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको पक्षमा दृढताका साथ उभिन आग्रह गरेका छन् । पूर्वमाअ‍ोवादी समूहका नेताहरु फरकफरक गुटमा लाग्न थालेपछि सोमबार बिहान नेताहरुलाई खुमलटारमा बोलाएर अध्यक्ष प्रचण्डले एकताबद्ध हुन आह्वान गरेका हुन् ।

उनले आफू निकट स्थायी कमिटी सदस्यहरुलाई पार्टीभित्रको समस्या हल हुँदै गएको र बाहिर देखिएजस्तो विवाद नरहेको स्पष्ट पारेका थिए । अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक लडाईं आवश्यक रहेकाले केही जटिलता देखिएको स्वीकार गरेका थिए । स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग मिल्नुको विकल्प नरहेको बताएका थिए ।

‘उहाँले पार्टी एकताबाट भागेर नभई लडेर हगाडि बढ्नुपर्छ भन्ने सन्देश दिनुभयो’, एक स्थायी कमिटी सदस्यले भने, ‘कार्यकर्ताको भावना अनुसार अगाडि बढ्नुपर्छ भन्नुभयो । मंसिरमा गर्ने भनेको महाधिवेशनको प्रस्तावबारे पनि केही छलफल भयो ।’

अध्यक्ष प्रचण्डले आफू पदका लागि पार्टी विवादलाई उत्कर्षमा पुर्याउने मनस्थितिमा नरहेको बताए । ‘पार्टी विधिअनुसार चल्नुपर्छ । म पदमोहमा हिँडेको छैन् । ओलीजीसँग सहमति खोज्ने प्रयासमा हामी छौं । छिट्टै नै निष्कर्षमा पुग्छौं’, प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement