खटिमा – उत्तराखण्डको मुख्यमन्त्रीमा पुष्करसिंह धामी नियुक्त भएका छन् । विधानसभा चुनावमा नेपालसंग सिमा जोडिएको खटीमा क्षेत्रबाट उनि दुई पटक विधायक चुनिएका थिए । भाजपाको संसदीय दलको बैठकले धामीलाई मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको हो । उनले आइतबार सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
संसदीय दलको नेता चयन भएपछि धामीले पार्टीले सामान्य कार्यकर्तालाई सेवाको अवसर दिएको र जनताका अधिकारलाई पुरा गर्नको लागी सबैको सहयोग लिएर काम गर्ने प्रतिक्रिया दिएका छन् ।
मुख्यमन्त्री तीर्थसिंह रावतले शुक्रवार राज्यपाल बेबी रानी मौर्यसमक्ष राजीनामा दिएका थिए । संविधानअनुसार रावतले ६ महिनाभित्र संसदको सदस्य भइसक्नुपर्ने थियो । तर, निर्वाचनको आयोगले कोरोना भाइरसको महामारीलाई ध्यान दिंदै उपनिर्वाचनको लागी अनुमति नदिएपछि उनी संसदको सदस्य बन्नबाट वंचित भएका थिए । रातवले विवादित बयान दिएको भन्दै उनको आलोचना समेत हुने गरेको थियो । विजेपीको नेतृत्व समेत उनीसंग खुसी थिएन ।
धामी ४५ वर्षको उमेरमा उत्तराखण्डको मुख्यमन्त्री नियुक्त भएका छन् । धामी उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवंम् महाराष्ट्रका गर्भनर भगतसिंह कोश्यारीको निकट मानिन्छन् । धामीसंग अहिलेसम्म सरकार चलाएको कुनै अनुभव भने छैन । उनि कोश्यारी मुख्यमन्त्री हुंदा उनको ओएसडी समेत बनेका थिए ।
यसअघि मुख्यमन्त्री त्रिवेन्द्र रावतले राजीनामा दिएपछि तीर्थसिंह रावत मुख्यमन्त्री बनेका थिए । उत्तराखण्डमा २१ वर्षमा ११ जना मुख्यमन्त्री बनेका छन् ।
धामीको जन्म पिथौरागढको मनालीछीनामा भएको थियो । उनका बुवा भारतीय सेनामा सूबेदार थिए । उनको कर्मभूमि भने खटिमा हो । उनले खटिमामा पहिलो पटक कांग्रेसका देवेन्द्र चन्दलाई ५ हजार भोटले पराजित गरेका थिए भने दोस्रो पटक निर्वाचित हुंदा कांग्रेसकै भुवन चन्द्र कापडीलाई तीन हजार मतको अन्तरले चुनाव हराएका थिए ।
धामीको नेपालसंग समेत सुमधुर सम्बन्ध छ । उनी मुख्यमन्त्रीमा नियुक्त भएको समाचारसंगै सामाजिक संजालमा सुदुरपश्चिमका विभिन्न दलका नेता कार्यकर्ता, व्यवसायी र पत्रकारहरुले बधाई दिएका छन् ।




प्रतिक्रिया