काठमाण्डु – पूर्ण ओलीका २ पुस्तक ‘समृद्धि सपना’ र ‘बहुरूपी मान्छे’ लोकार्पण गरिएको छ।
शनिबार काठमाण्डुमा यी २ कृति इतिहासविद्, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, साहित्यकार एवं चर्चित गीतकार राजेन्द्र थापालगायतले लोकार्पण गरेका हुन्।
कृतिबारे नेपाली सेनाका अवकाशप्राप्त ब्रिग्रेडियर जनरल प्रेमसिंह बस्न्यातले मिहिन समीक्षा गरेका थिए। बस्न्यातले लेखक ओलीले आफ्ना पुस्तकमा देशको राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक दुरावस्थाको कारण र परिणाम उल्लेख गरेका बताए। उनले लेखकले देशलाई असहज परिस्थितिबाट निकास दिन प्रशस्त सुझावहरू पनि दिएका उल्लेख गरे ।
साहित्यकार, समालोचक घनेन्द्र ओझाले पूर्ण ओली नेपाली सेनाका अवकाशप्राप्त अधिकृत भएका उल्लेख गर्दै ओलीले आफ्नो जागिरे जीवनका क्रममा देश, विदेशमा देखे–भोगेकासँगै अवकाशपछि देखेका, भोगेका र अनुभव गरेका विषयलाई आफ्नो पुस्तकमा लेखेका बताए।
ओझाले ओलीले ‘समृद्धि सपना’मा समसामयिक विषयका लेखहरू सङ्गृहीत गरेका र ‘बहुरूपी मान्छे’मा वर्तमानका मान्छेका अनेक चरित्र र प्रवृत्तिलाई आख्यानीकरण गरेका बताए।
लेखक ओलीले देशमा देखिएको अनियमितता, भ्रष्टाचार, अपराधका कारण चौतर्फी समस्या देखिएको भन्दै तिनै सन्दर्भलाई पुस्तकमा लेखेको सुनाए।
प्राडा सुरेन्द्र केसीले लेखक ओलीले पुस्तकमा लेखेजस्तै देशमा अन्योल, अस्थिरचा र अराजकताको कारण शासकमा जिम्मेवारी, इमान, नैतिकता र आदर्श हराउनु नै भएको बताए ।




प्रतिक्रिया