काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएको हो ।
मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका बिष्णुकुमार गिरीले अग्रता लिएपछि मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाले प्रदर्शन गरुेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
झडपका क्रममा प्रहरी जवान गोपाल जिसीसहित ७ जना घाइते भएका छन् । त्यस्तै, प्रदर्शनकारीतर्फ घाइते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका –२ का २० बर्षिया कमल घर्ती,नौबहिनी –६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका –७ का खेमराज पण्डित रहेका छन ।
घाईतेलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ । देउवा र पौडेल–सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो । आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया