काठमाण्डु– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् ।
अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘म यस आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको छ,’उनले थपे,‘यदि पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्छ ।’ यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोको निम्तो ‘वार्ताका लागि हो, आत्मसमर्पणका लागि होइन’ भनेका थिए । तर जेलेन्स्कीले मास्कोको निम्तोलाई वार्ता अस्वीकार गर्ने तरिका भएको टिप्पणी गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लामो समयदेखि दुई नेताबीच प्रत्यक्ष भेटवार्ताको दबाब दिइरहेका छन् । उनले हालै अलास्कामा पुटिनसँगको शिखर बैठकको मुख्य उद्देश्य पनि यही भएको बताएका थिए ।
ट्रम्पका अनुसार जेलेन्स्कीको वाशिङटन भ्रमण र युरोपेली नेतासँग छलफलपछि वार्ता सम्भव हुने भए पनि, मस्कोले थप सर्त राख्दै युक्रेनी शहरहरूमा आक्रमण तीव्र बनाएपछि प्रक्रिया रोकिन पुगेको हो ।




प्रतिक्रिया