काठमाण्डु – परराष्ट्रमन्त्री एनपी साउँदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउँदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा समेत गरे।
यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । भेटका क्रममा उनीहरूबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।
इजरायल र हमासबीच भएको सहमति अन्तर्गत चार दिनको सङ्घर्ष विरामको अवधिमा हमासले गाजाबाट ५० बन्धकलाई मुक्त गर्नेछ भने इजरायलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको छ।
त्यसको पहिलो चरणमा शुक्रवार १३ बन्धकहरू मुक्त हुने कतारी मध्यस्थकर्ताले जनाएका छन्। त्यसमा सबै महिला तथा बालबालिका हुने बताइएको छ।
केही दिनअघि इजरायली डिफेन्स फोर्सेसले सार्वजनिक सञ्जालमा सीसीटीभी फुटेजसहित एउटा पोस्ट गर्दै हमासका लडाकुहरूले बन्धक बनाएर लगेका केही मानिसलाई अक्टोबर ७ कै दिन अल-शिफा अस्पताल परिसरमा देखिएको र तीमध्ये एक जना नेपाली भएको जनाएको थियो।
अहिले इजरायलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्। त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।
त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरायलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।




प्रतिक्रिया