काठमाण्डु- सर्वोच्च अदालतले सहकारीको रकम ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा परेको पूरक जाहेरी झिकाउन आदेश दिएको छ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको विषयमा कास्की प्रहरीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउन आदेश दिएको हो।
सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कुनै अभियोजन नभएको भन्दै पत्र लेखेको थियो। उक्त कार्य कानुनविपरीत भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले प्रहरी कार्यालय, कास्कीमा परेको जाहेरी झिकाउन आदेश दिएको हो । इजलासले दुवै पक्षलाई जेठ २८ गते अन्तरिम आदेश जारी गर्ने या नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाएको छ।
त्यसैदिन महान्यायाधिवक्ताको कार्यालयबाट वैशाख २४ गते लेखिएको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको पूरक जाहेरी थप परीक्षण गरी दुवै पक्षलाई छलफलमा राखेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निष्कर्षमा पुग्ने इजलासको तयारी छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले गृहमन्त्री लामिछानेसहित ४ जनाको नाम र ठेगाना नै किटान गरी गत माघ २२ गते कास्की प्रहरीमा जाहेरी दिएका थिए। २५ जना पीडितले हस्ताक्षर र ल्याप्चे लगाई पेस गरेको निवेदनको एक नम्बरमा नै रविको नाम स्पष्टरुपमा उल्लेख गरिएको छ । सहकारी ऐन र ठगीसम्बन्धी कानुनका आधारमा दिइएको निवेदनको कसुर गर्ने व्यक्तिको नाम, थर ठेगाना भन्ने शीर्षकमा स्थायी ठेगाना काठमाण्डु जिल्ला कामनपा वडा नम्बर ६, वर्ष ४८ को रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७ भएको ) भन्ने किटानी गरिएको छ।
जाहेरीमार्फत लामिछानेलगायतका व्यक्ति तथा संस्थाका पदाधिकारीलाई पक्राउ गरेर सहकारीसम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।
निवेदकहरूले २०८० माघ २१ गते सूर्यदर्शन सहकारीको पोखरा- ४ नालाकोमुखस्थित कार्यालयमा गई बुझ्दा ठगी भएको एकिन भएको पनि दाबी गरेका छन् ।
‘प्रकरण ३ मा उल्लेखित रवि लामिछानेलगायतका व्यक्ति तथा संस्थाका पदाधिकारीलाई यथाशीघ्र पक्राउ गरी सहकारीसम्बन्धी कसुरमा अनुसन्धान गरी प्रस्तुत कसुरमा अन्य कोही कसैको संलग्नता भए निजहरूबाटै खुलाई निजहरूलाई सहकारी ऐन २०७४ तथा मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन ) सम्बन्धी कसुरअन्तर्गत हदैसम्मको सजाय गरी हामी जाहेरीवाललगायत अन्य पछि पीडित बनी रकम जम्मा गरेको प्रमाणसहित आधार प्रमाणसहित उपस्थित हुने बचतकर्ताको रकमको सावाँ(ब्याजलगायतको क्षतिपूर्ति निज प्रतिवादीहरूबाटै दिलाई-भराई न्याय दिलाइ पाऊँ’, उक्त जाहेरीमा भनिएको छ ।
निवेदकहरूले सूर्यदर्शन सहकारीको पोखरा ४ नालाकोमुखस्थित कार्यालयमा गई बुझ्दा ठगी भएको एकिन भएको पनि दाबी गरेका छन् ।
‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारी र कर्मचारीहरूले हामी जाहेरवालाहरूलाई सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सहकारीमा बचत तथा शेयर राख्दा उल्लेखनीय फाइदा पुग्छ, आर्थिक कारोबार गर्न तथा आफूलाई आवश्यक परेको बेला तुरुन्त रकम झिक्न सक्नुहुन्छ भनी विभिन्न किसिमबाट कुरा गरी आश्वासन देखाएर विश्वास दिलाएका कारण हामी जाहेरवालाहरूलगायत हजारौँ मानिसहरूले सहकारी संस्थामा साधरण तथा मुद्धति खातामा वा सेयर सदस्य बनी रकम जम्मा गर्दै आएकोमा पछिल्ला दिनहरूमा हामी जाहेरवाला समेतका मानिसहरूले सहकारीमा जम्मा गरेर राखेको पैसा (रकम) निकाल्नको लागि संस्थामा गई भौचर भरी पेस गर्दा सहकारीमा पैसा नभएको भनि कर्मचारीहरूले पटकपटक फर्काउने गर्न लागेपछि हामीले संस्थामा जम्मा गरेको रकम कतै कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा हिनामिना त भएको छैन भन्ने विषयमा बुझ्दै जाने क्रममा उक्त सहकारी संस्थाले रकम हिनामिना भएको भन्ने थाहा हुन आएको छ’, जाहेरीमा निवेदकहरूले दाबी गरेका छन् ।








प्रतिक्रिया