रवि लामिछानेविरुद्ध अर्काे मुद्दा दर्ता, ११ करोड बिगो दाबी

रवि लामिछानेविरुद्ध अर्काे मुद्दा दर्ता, ११ करोड बिगो दाबी


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने समेत २९ जनाविरुद्ध अर्काे सहकारी ठगीको मुद्दा दर्ता भएको छ ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको छ । सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र दायर भएको छ ।

सहकारी ऐन २०७४ को दफा १२४ अनुसार १० करोडभन्दा बढी १ अर्बसम्म बिगो भएकाले लामिछानेलाई ६–८ वर्ष कैद सजाय पनि हुन सक्ने जनाइएको छ । यसबाहेक उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजाय समेत माग गरिएको छ । जसअनुसार उनलाई प्रचलित कानूनको अतिरिक्त ५० प्रतिशत थप सजाय पनि हुन सक्ने जनाइएको छ ।