योजना बनाएर प्रतिशोध साध्नेहरूलाई माफी गर्ने छाती मसँग छ : सभापति लामिछाने

योजना बनाएर प्रतिशोध साध्नेहरूलाई माफी गर्ने छाती मसँग छ : सभापति लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन् ।

बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरूले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए ।

उनले भने, ‘अब हामीले आफ्नो भविष्य आफैंले लेख्ने हो । यिनलाई प्रतिपक्ष पनि नराख्ने हो । किन राख्ने प्रतिपक्षमा ? केका लागि राख्ने ? कलिला बालबालिकाहरूको टाउको र छातीमा ताकीताकी गोली हान्नका लागि राख्ने यिनीहरूलाई ? नराख्ने म स्पष्ट गर्न चाहन्छु । मलाई कटाक्ष गर्नु छैन, पीर त छ मलाई, राज्यले ममाथि जुन दमन गर्‍यो, चित्त त दुखेको छ । तर यो कुरा मेरो निजी रहेन, मेरो व्यक्तिगत रहेन । सिङ्गो देशको कुरा हो । मैले कारागारबाट भनेको थिए यिनले मलाई जेल हाले भनेर किन चिन्ता गर्नु, जबकी सिङ्गो देशलाई यिनीहरूले जेल बनाएका छन् । अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने हो । यो लडाइँ बाँकी छ भने पनि मलाई लड्न कुनै आपत्ति छैन ।’

सभापति लामिछानेले देशको पीडाको अगाडि आफ्नो पीडा ठूलो नभएको भन्दै आफूमाथि योजना बनाएर प्रतिशोध साँध्नेहरूलाई माफी गर्ने छाती आफूसँग भएको धारणा राखेका छन् ।

‘मेरो व्यक्तिगत पीडा देशको अगाडि केही ठूलो कुरा हैन । त्यसलाई हिसाब गर्दै गरौंला । म त प्रतिशोधमा पनि छैन । जसले ममाथि योजना बनाएर प्रतिशोध साँधे मसँग तिनलाई माफी गर्ने छाती छ,’ उनले भने ।

आफूमाथि अझै ५ ठाउँमा तरबार झुण्ड्याइएको भन्दै उनले त्यो जुनसुकै बेला खस्न सक्ने बताए । पटक–पटकको मुद्दा मामिला र झमेलाले जनतालाई गरेको कैयौ वाचाहरू पूरा गर्न नपाएको भन्दै आफ्ना लागि जनताले बगाएको आँसुको एउटा थोपा पनि खेर फाल्न नदिने प्रतिबद्धता जनाए ।

उनले भने, ‘म माथिको तरबार अझै ५ ठाउँमा झुण्ड्याएको छ । कुनै पनि बेला खस्न सक्छ, खसोस् तर मलाई प्रवाह छैन । तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो । उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, तपाईंले निर्वाचित गर्नुभएको सांसदको रूपमा मैले धित मर्ने गरी काम गर्नै पाइनँ । म तपाईंको घर आँगनमा आउनै पाइनँ, पटक–पटकको मुद्दामामिला र झमेलाले मैले गरेका कैयौ वाचाहरू पूरा गर्न नै पाइनँ, त्यो अवसर नै पाइनँ तर पनि तपाईंहरूले मेरा लागि बगाउनुभएको आँसु मलाई याद छ । त्यो आँसुको एउटा एउटा थोपा खेर फाल्न दिने छैन,’ उनले भने ।