काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेशसभाको निर्वाचन बहिस्कार गर्ने बताएको छ । रवि लामिछाने नेतृत्वको उक्त पार्टी आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा सहभागि नहुने भएको हो ।
पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् ।
‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौं नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापकरूपमा देखेको छु । प्रदेश तहको अहिलेको संरचना राज्यकोषको दोहन गरेर राजनीतिक दलका दोस्रो, तेस्रो र चौथो तहका नेता व्यवस्थापन गर्ने थलो बनाइएको देखिन्छ ।’ उनले भने ।
प्रदेश सरकार र संरचनाको यही स्वरुप कायम हुनु भनेको यो तह राष्ट्रिय ढुकुटी खर्च गर्ने थलोबाहेक केही नहुने लामिछानेको भनाइ छ ।
‘यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन । प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’, उनले भने ।




प्रतिक्रिया