काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने फागुन २१ गते देशमा चेतनाको घण्टी बज्ने बताएका छन् ।सोमवार साँझ भिडियो सन्देश जारी गर्दै फागुन २१ गते जनताले आफ्नै हातले न्याय र परिवर्तनको इतिहास लेख्ने बताएका हुन् ।
उनले आफू नेता नभई अभियान्ता बन्न चाहेको उल्लेख गरेका छन् ।उनले कुशासन ,अहङ्कारले हार्ने र परिवर्तनले जित्ने विश्वास व्यक्त गर्दै देशैभरिका घन्टीवाहक उम्मेदवारहरूले मतदाताले गौरव गर्ने गरी, देशले गौरव गर्ने गरी काम गर्ने बताएका छन् ।
उनले भनेका छन् ‘मलाई विश्वास छ, फागुन २१ मा यो देशमा चेतनाको घण्टी बज्नेछ, परिवर्तनको घण्टी बज्नेछ । कुशासनका पिताहरू अब संसदमा देखिने छैनन् । केवल सुशासन र अभिव्यक्ति स्वतन्त्रता मागेका युवाहरूको रगतले रङ्गिएका हातहरू र अनुहारहरूले संसदको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न पाउने छैनन् । कुशासन र अहङ्कारले हार्नेछ, परिवर्तनले जित्नेछ।’
‘मैले चुनाव जितेँ भने संसद टेक्न पाउँदिन भनेर कुप्रचार गरिएको रहेछ, तर यीनीहरूलाई थाहा छैन कि संसद् नियमावली नमिचि रवि लामिछानलाई हिजो पनि रोक्न मिल्दैनथ्यो, भोलि पनि मिल्ने छैन ।अबको संसदमा न त्यस्तो सभामुख हुनेछन्, न त्यस्तो अत्याचार हुनेछ । चितवन-२ मा मैले तपाईँहरूको पूर्ण प्रतिनिधित्व गर्नेछु । मतदाताले गौरव गर्नेगरि काम गर्नेछु ।’
उनले रास्वपाले मधेशलाई मियो र नेता बनाएर देश र मधेशलाई जोड्ने बताए ।




प्रतिक्रिया