रोष्ट्रमबाट रविको प्रतिज्ञा- यो मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्छौं

रोष्ट्रमबाट रविको प्रतिज्ञा- यो मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोध नदोहोरिने बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा नेतृत्वको सरकारले प्रतिपक्षीमाथि प्रतिशोध नसाध्ने बताएका हुन् ।

लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताए ।

‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका छौं,‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ । यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु । यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं,’ लामिछानेले भने ।

यस्तै, उनले आवश्यक परे प्रधानमन्त्रीले बोलेर नभए कामबाटै गरेर देखाउने बताए। उनले भने, ‘सरकारको प्राथमिकता आवश्यक परे प्रधानमन्त्रीले बोलेर, आवश्यक नपर्दा कामबाट प्रस्तुत हुन्छ।’

उनले केवल भाषणले मात्र परिवर्तन सम्भव नभएको उल्लेख गर्दै कामबाट प्रमाणित गर्नुपर्नेमा जोड दिए । ‘हामीले बोलेर मात्रै पुग्दैन । मैले मात्र होइन, रास्वपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामी राम्रै बोल्नुभन्दा पनि कामहरू, सरकारका कामहरू आफैं बोल्नेछन् । ती बोल्न सुरु गरिसकेको कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने ।

उनले सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नरहेको उल्लेख गर्दै छिटो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन । हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं, त्यो सुरु गरिसकेका छौं,’ उनले भने ।

लामिछानेले विपक्षी दलका प्रतिबद्धतासमेत कार्यान्वयन गर्न तयार रहेको स्पष्ट पार्दै विगतका सरकारबाट सिक्ने प्रतिबद्धता जनाए । ‘हामी आफ्ना मात्र होइन, विपक्षी दलका चुनावी प्रतिबद्धता पनि स्वामित्व लिन तयार भएर आएका छौं। यसअघि पनि पटक–पटक एकल बहुमतका सरकार नबनेका भने होइनन्। तर ती सरकारहरू इतिहासका अंग बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं,’ उनले भने ।

उनले जनताले दिएको बहुमतलाई गुमेको अवसरका रूपमा इतिहासमा लेखिन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास फेरि ‘गुमेको अवसर’ भनेर लेखियो भने कलंकित हुनेछौं, हामीलाई त्यो मन्जुर छैन,’ उनले भने ।