काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई सरकारले चालेका कदमबारे प्रश्न गर्दा भागेर नहिँड्न सुझाव दिएका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले सरकारले हेरेर र सोचेर मात्र कदम चालेको बताएका हुन् ।
उनले भने ‘कहिलेकाहीँ विभिन्न कोणबाट आएका प्रतिक्रियाहरू, कहिलेकाहीँ समालोचनाहरूले हामीलाई सोच्न बाध्य बनाएको पनि हुनसक्छ, तर तपाईँहरू के निर्धक्क हुनुहोला भने सरकारले सोचेर,हेरेर र विचार गरेर आफ्ना कदमहरू चालिरहेको छ । त्यसकारण सरकारले गरेका कामहरूमा आजका दिनसम्म दुखमनाउ गरेर भाग्न पर्दैन ।’
यस्तै लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६/६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन,’ उनले भने, ‘त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नु भयो । परम्परा भत्काइयो भनिएको छ । यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो ।’
उनले यसमा आफूमाथि रिस पोख्नेहरूलाई चुनौति दिदैं भने ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार,’ उनले भने, ‘अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस् ।’




प्रतिक्रिया