गैर-दलीय व्यावसायिक र राजनीतिक क्षेत्रमा नयाँ व्यक्तिहरूद्वारा स्थापना गरिएको एउटा राजनीतिक दलले चार वर्षभन्दा कम अवधिमा संसदमा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गर्नु राजनीतिक इतिहासमा कुनै सामान्य घटना होइन । त्यसैले, नेपालमा के भइरहेको छ र यो देश कुन दिशातिर जाँदैछ भन्नेबारे विश्वव्यापी चासो हुनु पूर्ण रूपमा स्वाभाविक हो ।
एक हजार माइलभन्दा बढी साझा सीमाना भएको नजिकको छिमेकीका नाताले भारतमा यो चासो हुनु अझ बढी स्वाभाविक छ । नेपालको रूपान्तरणको यो कथा सडक हिंसा, सैन्य ‘कू’, वैदेशिक हस्तक्षेप वा संवैधानिक रिक्तताद्वारा लेखिएको होइन । बरु, यो एउटा शान्तिपूर्ण र लोकतान्त्रिक ‘मतपेटिकाको क्रान्ति’ हो । यस्तो समयमा जब धेरै समाजहरू ध्रुवीकरण, अख्तियारप्रतिको अविश्वास र भ्रष्ट राजनीतिले ग्रस्त छन् र गैरलोकतान्त्रिक विकल्पहरूतर्फ ढल्कँदैछन् ।
नेपालले बहुलवादी समाजमा लोकतन्त्र परिवर्तनको एक शक्तिशाली माध्यम हो भन्ने प्रमाणित गरिदिएको छ । आजको नेपाल कुनै अनिश्चित भविष्यतर्फ अघि बढिरहेको छैन । यसले थप समृद्ध र जीवन्त लोकतन्त्रको एक अत्यन्तै आकांक्षी दृष्टिकोणलाई अंगालिरहेको छ । हाम्रा मूल सिद्धान्तहरू सरल छन्, सुदृढ सुशासन र विकासमार्फत जनताप्रति प्रत्यक्ष जवाफदेहिता ।
नयाँ राजनीतिक वास्तविकता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको नयाँ राजनीतिक वास्तविकता हो । एउटा यस्तो युवा शक्ति जसले वर्षौँदेखि जकडिएको राजनीतिक प्रणालीलाई उल्ट्याउन नसकिने गरी चुनौती दिएको छ । यसले युवा पुस्तालाई परिणाममुखी (डेलिभरीमा आधारित) राजनीतिमा आबद्ध गराउँदै देशका लागि एउटा फरक दृष्टिकोण प्रस्तुत गरेको छ ।
पछिल्ला दशकहरूमा पुराना कर्मचारीतन्त्रीय बन्धनहरूबाट मुक्त हुँदै भारत सफलतापूर्वक यस ग्रहकै सबैभन्दा ठूला र तीव्र गतिमा बढिरहेका अर्थतन्त्रहरूमध्ये एक बनेको छ । यो एउटा यस्तो उपलब्धि हो जसलाई हामी सम्मान गर्छौैैं ।
हामी सजग छौँ कि रास्वपाले प्राप्त गरेका मतहरू आक्रोश र आशा दुवैको सम्मीश्रण हुन्, जुन परिवर्तनका लागि प्राप्त एक अभूतपूर्व जनादेशमा बेरिएको छ । त्यही कारणले नै युवा, समावेशी र स्वच्छ छविका प्रतिभाहरू निर्वाचित हुन सफल भए । हाम्रो परराष्ट्र नीतिलाई रूपान्तरण गर्न आवश्यक पर्ने सबैभन्दा ठूलो सम्पत्ति अहिले हामीसँग छ । हामीसँग विगतको कुनै बोझ छैन । हामी पुराना शत्रुता वा पूर्वाग्रहहरूबाट बाँधिएका छैनौँ ।
हामी जनताको स्तरमा सार्वभौम सन्धि र अनौपचारिक सम्बन्धहरूबाट बाँधिएका छौँ । तर विगतका नेताहरूका मसिना सौदाबाजी र गुप्त समझदारीहरूमा अल्झिएका छैनौं । हामी भारत र बाँकी विश्वलाई खुला हृदय, स्पष्ट आँखा र पारदर्शी एजेन्डाका साथ हेर्छौँ । र त्यो एजेन्डा हो, नेपालको आर्थिक रूपान्तरण । नेपाल र भारत केवल दुई देश मात्र होइनन्, हामी एउटा गौरवशाली, प्राचीन सभ्यताका साझेदार हौँ । रामको गाथा जनकपुर र अयोध्या जोडिएपछि मात्र पूर्ण हुन्छ । आस्था तब मात्र पूर्ण हुन्छ, जब पशुपतिनाथ र केदारनाथलाई सँगै ल्याइन्छ ।
एउटा महान् सभ्यताको जग लुम्बिनी र बोधगयालाई जोडेर मात्र साकार हुन्छ । यद्यपि, हामीसँग न त आत्मरतिमा भुल्ने विलासिता छ । न त हामी आफ्ना कमजोरीहरूलाई घिसेपिटेका वाक्यांशहरू पछाडि लुकाउन चाहन्छौँ । हाम्रो सम्बन्धले के हासिल गर्यो भन्ने कुरालाई मात्रै हेर्नुको सट्टा, हामी यसले के हासिल गर्न सक्थ्यो र यो के बन्न सक्छ भन्ने कुरामा केन्द्रित भएर एउटा नयाँ सुरुवात गर्न चाहन्छौं ।
सीमाना मात्र होइन, अर्थतन्त्रलाई जोड्ने जब हामी सीमाना पारि हेर्छौँ, हामी एउटा यस्तो भारत देख्छौं जसले आफूलाई पूर्ण रूपमा पुनःपरिभाषित गरेको छ । पछिल्ला दशकहरूमा पुराना कर्मचारीतन्त्रीय बन्धनहरूबाट मुक्त हुँदै भारत सफलतापूर्वक यस ग्रहकै सबैभन्दा ठूला र तीव्र गतिमा बढिरहेका अर्थतन्त्रहरूमध्ये एक बनेको छ । यो एउटा यस्तो उपलब्धि हो जसलाई हामी सम्मान गर्छौैैं । हामी विकासमा साझेदार बन्न चाहन्छौं । भारत प्रतिदिन झन्डै १५ किलोमिटर रेलमार्ग निर्माण गर्दै मेट्रो र रेल विस्तारमा विश्वव्यापी लिडर बन्ने दिशामा अघि बढिरहँदा, प्रस्तावित रक्सौल-काठमाण्डु रेलमार्ग १५० किलोमिटरभन्दा छोटो छ ।
जुन दिन त्यो १५० किलोमिटरको ट्र्याक जोडिनेछ । यसले हाम्रो बीचको व्यापार, पर्यटन, ढुवानी (लजिस्टिक) र क्षेत्रीय कनेक्टिभिटीमा क्रान्ति ल्याउनेछ । नेपाल केवल सीमाना जोड्न मात्र चाहँदैन । यसले यी रेलमार्गहरू सिंगो अर्थतन्त्रलाई गति दिन प्रयोग होस् भन्ने चाहन्छ । हामी केवल नयाँ दिल्लीतर्फ मात्र हेरिरहेका छैनौं, हामी भारतका विभिन्न राज्यहरूमा भइरहेका गतिशील रूपान्तरणहरूलाई पनि नियालिरहेका छौं ।
हामीले देखेका छौँ कि भारतको उड्डयन क्षेत्रले कसरी उचाइ लिएको छ । के हामी पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुजस्ता चम्किला केन्द्रहरूमा सीधा उडानहरू सञ्चालन गर्न सक्दैनौं ? हामी आन्ध्र प्रदेश र तेलङ्गानाले आईटीमा कसरी फस्टाउँदो इकोसिस्टम निर्माण गरे भन्ने मात्र बुझ्न चाहँदैनौं । के हामी ‘काठमाण्डु–बेंगलुरु डिजिटल करिडोर’ को परिकल्पना गर्न सक्दैनौँ ? हामी गुजरातको औद्योगिक पूर्वाधारबाट प्रेरणा लिन्छौँ । के यसले हाम्रो करिडोरमा रासायनिक मल कारखाना स्थापना गर्न तत्काल सहकार्यका लागि प्रेरित गर्न सक्दैन ? हामी नेपालमा आईआईटी र एआईआईएमएस जस्ता संस्थाहरूलाई स्वागत गर्न चाहन्छौँ । आज, नेपालले भारतका आईटी कम्पनीहरू, स्टार्टअप इकोसिस्टम र विश्वविद्यालयहरूलाई दृढताका साथ भन्न सक्छ, ‘हाम्रो देशमा इनोभेसन ल्याब, इन्क्युबेसन सेन्टर र टेक-हबहरू स्थापना गरेर हामीलाई नवप्रवर्तनमा आफ्नो साझेदार बनाउनुहोस् ।’
हामीलाई हाम्रो अत्यन्तै प्रतिभाशाली युवा पुस्ता, प्रचुर मात्रामा उपलब्ध स्वच्छ ऊर्जा र बढ्दो डिजिटल इकोसिस्टमप्रति गर्व छ । तर भारतको परिष्कृत प्राविधिक इकोसिस्टमबाट थोरै सहयोग पाउने हो भने यी क्षेत्रहरू पूर्ण रूपमा रूपान्तरित हुन सक्छन् । हामी डिजिटल भुक्तानी, फिनटेक र दुवै तर्फका साना उद्यमीहरूलाई सशक्त बनाउने क्रस-बोर्डर प्लेटफर्महरूमा सहकार्य गर्न चाहन्छौँ ।
विकास कूटनीतितर्फ परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल-भारत सम्बन्धको सम्पूर्ण शब्दावलीलाई भूराजनीतिक टकरावबाट टाढा धकेल्दै दृढताका साथ ‘विकास कूटनीति’ मा स्थापित गर्न चाहन्छ । हाम्रो मुख्य एजेन्डा कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक साझेदारीको इन्जिनमा रूपान्तरण गर्नु हो । हामी एउटा यस्तो सम्बन्ध चाहन्छौं, जसले दुवै देशका सर्वसाधारण नागरिकको दैनिक जीवनमा मापनयोग्य परिणामहरू दिन सकोस् । नेपालको जलविद्युत क्षमता अब केवल आन्तरिक सम्पत्ति मात्र रहेन । यो उदयीमान भारतका औद्योगिक करिडोरहरूलाई उर्जा दिने एक स्वच्छ र हरित इन्जिन हो ।
हामीले खण्डित क्रस-बोर्डर व्यापारबाट माथि उठेर एक सुदृढ र एकीकृत ऊर्जा बजारको दिशामा अघि बढ्न आवश्यक छ । टमाटरको मूल्य वा मेसिनरीको ओसारपसार अब कर्मचारीतन्त्रीय झन्झटद्वारा निर्देशित हुनुहुँदैन । हामीलाई आधुनिक, डिजिटलाइज्ड एकीकृत जाँच चौकी र उन्नत पारवहन करिडोरहरू चाहिन्छ । जसले कडा सिमानाहरूलाई सहज पुलमा रूपान्तरण गरोस् । हिमालयका चुचुराहरूदेखि लिएर जनकपुर, लुम्बिनी र बोधगयाका पवित्र सर्किटहरूसम्म, हाम्रो पर्यटन सम्भावनाहरू एकापसमा निर्भर छन् ।
हामीले यस्ता पर्यटन सर्किटहरू निर्माण गर्नुपर्छ, जसले विश्वभरका पर्यटकहरूलाई कुनै प्रशासनिक अवरोधबिना हाम्रो साझा सम्पदाको अनुभव गर्न सघाओस् । हामीले भर्खरै अहमदाबादमा आईपीएलको फाइनल खेल प्रत्यक्ष मात्र हेरेका छैनौं । नेपाली खेलाडी र नेपाली रंगशालाहरूलाई आईपीएल फ्रेन्चाइजीमा कसरी समाहित गर्न सकिन्छ भन्नेबारे पनि गम्भीरतापूर्वक सोचिरहेका छौं ।
आपसी विश्वासको जग निर्माण कृषि, स्वास्थ्य सेवा, साइबर सुरक्षा र विपद् व्यवस्थापनलगायत अनगिन्ती क्षेत्रहरूमा सहकार्यको सम्भावना रहे तापनि, जुन जगमा यसको निर्माण हुनुपर्छ, त्यसलाई हामीले अझ बलियो बनाउन आवश्यक छ । र, त्यो हो विश्वास । हामी मुख्य समस्याहरूलाई गुमराहमा राखेर साँचो मित्रता हासिल गर्न सक्दैनौं । हामी यस्ता छिमेकी हौं, जसको सभ्यताको बन्धन मानव-निर्मित सिमानाहरू भन्दा हजारौँ वर्ष पुरानो छ । त्यसैले, हाम्रा हालसालैका विवादहरूलाई गिजोलिरहनु हुँदैन ।
तिनीहरूलाई ऐतिहासिक तथ्य र आपसी समझदारीको आधारमा समाधान गर्न सकिन्छ । हामी परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने उग्र-राष्ट्रवादी नाराबाजीलाई घृणा गर्छौं। हामीले प्रस्ताव गरेको विकल्प प्रमाणमा आधारित संवाद र चुनावी जोडघटाउबाट मुक्त व्यावहारिक दृष्टिकोण हो । एउटा स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सिमानाका लागि प्राकृतिक सुरक्षा कबच हो । जबकि राजनीतिक रूपमा विभाजित नेपालले भारतलाई आफ्नो छिमेकमा हुने अस्थिरताप्रति चिन्तित तुल्याउँछ । त्यसैले, नेपालको आर्थिक विकास भारतका लागि पनि एउटा रणनीतिक आवश्यकता हो ।
ऐतिहासिक अवसर
इतिहासले कसैलाई पनि असीमित अवसरहरू दिँदैन । यसले छोटो अवधिका लागि ढोका खोल्ने गर्छ । यो क्षण अहिले, सन् २०२६ को मध्ये नेपाल(भारत सम्बन्धलाई पूर्ण रूपमा रिसेट गर्न र नयाँ उचाइमा पुर्याउन दशकौँमा देखिएको सबैभन्दा अनुकूल अवसर हो । विगत ३० वर्षको अस्थिरता र भ्रष्टाचारयुक्त नेपाल अब इतिहास भइसकेको छ । हामी अरू के लिएर आएका छौं
?
युवा सचेत मतदाताहरूको बलियो जनादेश, जसले राजनीतिक सम्झौताको भाषा होइन । कर्पोरेट कार्यन्वयनको भाषा बोल्ने व्यावसायिक नेतृत्वलाई चुनेका छन् । हामी नीतिगत निरन्तरता, पारदर्शिता र इमानदारिताको प्रतिबद्धता व्यक्त गर्दछौं । रास्वपा नेतृत्व तयार छ किनभने नेपालका जनता तयार छन् ।
आउनुहोस्, विगतका चिन्ताहरूद्वारा होइन, बरु साझा भविष्यका असीम सम्भावनाहरूद्वारा परिभाषित साझेदारीको निर्माण गरौं । हामीले सम्बन्धलाई पुनः परिभाषित र प्रगाढ बनाउन खोज्दा हामीसँग एउटा ऐतिहासिक सन्दर्भ , अगस्ट ३, २०१४ । त्यस दिन प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई मात्र सम्बोधन गर्नुभएको थिएन । उहाँ नेपाली जनतासँग प्रत्यक्ष अन्तर्क्रिया गर्न सडकमा समेत ओर्लिनुभएको थियो । उहाँले हाम्रो सम्बन्ध हिमाल र गङ्गा जत्तिकै प्राचीन रहेको र यो केवल कागजी दस्तावेजहरू भन्दा धेरै माथि रहेको कुरा स्नेहपूर्वक व्यक्त गर्नुभएको थियो । हाम्रा सिमानाहरू अवरोध होइन, बरु पुल बन्नुपर्छ भन्ने साझा दृष्टिकोणमा जोड दिने उहाँ नै हुनुहुन्थ्यो ।
त्यसयता बागमती र गङ्गामा धेरै पानी बगिसकेको छ । यी नदीहरूले पहाडहरूसँग सम्झौता गर्दैनन् । तिनीहरू केवल आफ्नो बाटो पहिल्याउँछन् । र हामी पनि त्यसै गर्नेछौं । त्यो अगस्टको दिनको विश्वास र न्यानोपनमा फर्कनुको विकल्प हामीसँग छैन । र हामी फर्कनेछौं, पूर्ण इमानदारिताका साथ, र नयाँ सम्भावनाहरूलाई आत्मसात् गर्न तथा पुराना मतभेदहरूलाई पखाल्नका लागि प्रतिबद्धता गरिएको त्यो पुल निर्माणको पहिलो ढुङ्गा बोक्ने व्यावहारिकतातका साथ ।
( भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित लामिछानेको लेखको सम्पादित अंश)




प्रतिक्रिया