रविको घोषणा : सामाजिक सञ्जालमा तुच्छ टीकाटिप्पणी गर्नेका लागि रास्वपामा कुनै स्थान छैन

रविको घोषणा : सामाजिक सञ्जालमा तुच्छ टीकाटिप्पणी गर्नेका लागि रास्वपामा कुनै स्थान छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्राकृतिक विपद्को समयमा सर्वस्व गुमाएका नागरिकको आक्रोशप्रति सामाजिक सञ्जालमा तुच्छ टीकाटिप्पणी गर्नेका लागि रास्वपामा कुनै स्थान नभएको घोषणा गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पीडितलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारामा तुच्छ टीकाटिप्पणी र कटाक्ष नगर्न कार्यकर्ता र समर्थकलाई आग्रह गरे ।

उनले सरकारलाई आग्रह गर्दै पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएको अवस्थामा त्यसविरुद्ध कदम चाल्न सुझाव दिए ।

उनले भने, ‘हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति निकाल्ने होइन, राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसूस गर्ने गरी देखाउने हो, देखाउनुहोला ।’

उनले विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्धसमर्थक रास्वपालाई नचाहिएको बताए । उनले भने, ‘हामीलाई त शोक र पीडामा परेका भूइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ । नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन ।’

रास्वपाको कुनै पनि तहको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए त्यस्ता व्यक्तिलाई साधारण सदस्य समेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने बताए । उनले भने, ‘विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन ।’