रास्वापा नागरिकता विधेयकको विपक्षमा छैन: रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा आफूहरुको विरोध नभएको बताएका हुन् ।

यसभन्दा अघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो । त्यस विषयमा आज बसेको संसद बैठकमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताएका हुन् ।

‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ । नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ । जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ ।’, उनले भने ।

नागरिकता विधेयकमा रहेको एकल आमाले सन्तानलाई नागरिकता दिन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था महिलामाथि विभेदकारी रहेको लामिछानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement