काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताको बयानविना अधुरो फाइल पेश गर्न नहुने बताएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज उक्त जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेपछि लामिछानेले अधुरो फाइल पेश गर्न नहुने बताएका हुन् ।
सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउन लागेको हो। यसप्रति लक्षित गर्दै लामिछानेले गैर कानुनी आदेश नसुन्न र नमान्न सीआईबीलाई आग्रह गरेका छन् । सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछ नै नगरि अनुसन्धनमा टुंग्याएको प्रति आशंका गरेका छन् ।
‘सीआइबी ले गैर कानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ…ठुलै गडबड छ,’ सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन् ।




प्रतिक्रिया