ढाकाकुमारले रविको कोर टिममा मनोजजंग थापाको नाम लिएपछि…


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासित नेता ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लगाएका मनोजजंग थापामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

बुधवार रास्वपाले विज्ञप्ति जारी गर्दै तीन करोड प्रकरणमा थापामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो । मन्त्री बन्नको लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि ढाकाकुमारलाई रास्वपाका सभापति रवि लामिछानेले पार्टीबाट निष्कासित गरेका थिए ।

ढाकाकुमारले त्यसबेला आफूलाई मन्त्री बनाउन रविका कोर टिमले पैसा मागेको बताएका थिए । अडियोमा ढाकाकुमारले सभापति लामिछानेको नाम पनि लिएका थिए । ‘यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन रु’ भन्ने प्रसाईंको प्रश्नमा श्रेष्ठले भनेका छन्, ‘मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन्।’, उनले दुर्गा प्रसाईंसँगको संवादमा भनेका थिए ।

यसैबीच पछिल्लो समय उनले मन्त्री बनाउन थापाले तीन करोड मागेको कुरा सञ्चार माध्यममार्फत खुलासा गरेका छन् । थापा कोर टिम मध्येका एक जना भएको ढाकाकुमारको दावी छ । ढाकाकुमारले थापाले पैसा मागेको खुलासा गरेपछि रास्वपाले उनीमाथि कारबाही अगाडि बढाएको हो ।

‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै पार्टीका कुनै नेताले पैसाले लिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्नेसमेत रास्वपाले जनाएको छ ।

यता ढाकाकुमारले भने आफू निर्दोश रहेको बताउदैँ आएका छन् । पार्टी सभापति रवि लामिछानेले आफूमाथि अन्याय गरेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement