काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब सात घण्टा लामो छलफल भएको छ।
उच्च स्रोतका अनुसार दुवै नेताले दिउँसो लन्चसहित रातिसम्म लामो संवाद गरेका थिए। लामिछाने राति करिब १० बजे मात्र बालुवाटारबाट बाहिरिएका थिए।
स्रोतका अनुसार पछिल्लो समय सरकारको कामकारबाहीप्रति रास्वपाभित्र असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच एक्लाएक्लै छलफल भएको हो। दुवैले एक्लाएक्लै छलफल गर्ने निर्णय गरेपछि सचिवालयका कुनै सदस्यलाई बैठकमा सहभागी नगराइएको बताइएको छ।
छलफलमा पार्टी र सरकारलाई थप प्रभावकारी बनाउने, मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्दै आवश्यक परे हेरफेर गर्ने, तथा आगामी राजनीतिक र सरकारी रणनीतिबारे गम्भीर छलफल भएको स्रोतको दाबी छ। दुवै नेताले खुलेर आफ्ना धारणा राखेको पनि निकट स्रोतले जनाएको छ।
लामिछाने दिउँसो आफ्नै निजी सवारी साधनमा बालुवाटार पुगेका थिए। छलफल सकिएपछि भने उनलाई सांझ प्रधानमन्त्री कार्यालयबाट छोड्न गाडी पठाइएको थियो ।




प्रतिक्रिया