काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्री दीपक कुमार साहलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
पदको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई नियुक्ति दिलाएको पुष्टि भएपछि रास्वपाले उनलाई सरकारबाट फिर्ता बोलाउन प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’समक्ष सिफारिस गरेको हो ।
रास्वपा सभापति रवि लामिछानेले बिहीबार प्रधानमन्त्री बालेनलाई पत्र लेख्दै मन्त्री साहले पदीय मर्यादाविपरीत श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको जानकारी दिए । पार्टीको केन्द्रीय अनुशासन आयोगको अनुसन्धानबाट मन्त्री साहले स्वार्थको द्वन्द्व हुने गरी पदीय शक्तिको दुरुपयोग गरेको पाइएको छ ।
सभापति लामिछानेद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘माननीय मन्त्री दीपक कुमार साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको आयोगको अध्ययनबाट देखिएको छ । यसबाट पार्टीको छवि, आदर्श र सिद्धान्तमा आँच पुगेकाले उहाँलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिन्छ ।’
रास्वपाले आफ्नै पार्टीकी अर्की मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । आफ्नै मन्त्रालय मातहतको बोर्डमा भएको यस्तो गम्भीर नियुक्ति प्रक्रियामा अपेक्षित गाम्भीर्यता नदेखाएको भन्दै मन्त्री मेहतालाई सचेत गराउन सिफारिस गरिएको छ ।
पार्टी विधानको धारा ६९ मा रहेको ‘राइट टु रिकल’ (जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने) व्यवस्थाअनुसार मन्त्री साहलाई फिर्ता बोलाइएको रास्वपाले जनाएको छ । सरकारको नेतृत्व गरिरहेको दलले आफ्नै मन्त्रीमाथि यस्तो कठोर निर्णय लिएपछि मन्त्री साहको पद अब केही समयमै रिक्त हुने देखिएको छ ।






प्रतिक्रिया