किन आक्रोशित बने बालेन र रवि लामिछानेप्रति नेता बस्नेत ?

किन आक्रोशित बने बालेन र रवि लामिछानेप्रति नेता बस्नेत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका नेता महेश बस्नेत काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेप्रति आक्रोशित बनेका छन् ।  पछिल्लो समय नेता बस्नेत मेयर बालेन, रवि लामिछाने र रविन्द्र मिश्रलगायतका युवा नेताहरुप्रति आक्रोशित बनेका हुन् ।

सोमबार मात्रै भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले बालेन, रवि लामिछाने, रविन्द्र मिश्र र रमेश खरेलको नाममा नेपालमा अन्तर्राष्ट्रिय मिसन परिचालित रहेको दावी गरे । नेता बस्नेत सबै भन्दाबढी बालेन र रवि लामिछानेप्रति आक्रोशित बनेका देखिन्छन् ।

हाल सोमवार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले बोलेको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा उनले मेयर बालेन, रवि लामिछाने र रविन्द्र मिश्रलगायतका युवा नेताहरुप्रति कडा अभिव्यक्ति दिएका छन् । 

‘कसैलाई लहड छल्यो भन्दैमा डोजर ल्याएर ड्याङ कि ड्याङ भत्काउन पाइँदैन । रवि लामिछानेका नाममा, बालेनका नाममा, रविन्द्र मिश्रको नाममा, रमेश खरेलको नाममा विभिन्न अन्तर्राष्ट्रिय मिसनहरू परिचालित छन् । नेताहरूलाई कुकुरको माला लाइदिएका छन्, कुकुरको टाउको जोडेका छन् । त्योभन्दा तीन गुणा गाली गरेर लेख्नुस् । त्यो गरेबापत केही भयो भने हामी तपाईंको संरक्षण गर्छौं ।’, सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बस्नेतले भनेका छन ।

बस्नेतले अन्तराष्ट्रिय मिसनबाट परिचालितहरूले पार्टी र सिष्टम नै भत्काउन खोजेको भन्दै त्यो मिसनलाई समयमै फेल गराउनुपर्ने बताए । ‘सिष्टम भत्काउन चाहन्छन्, पार्टी भत्काउन चाहन्छन्, यी तत्वलाई बेलैमा तह लगाउन सकेनौँ भने अहिले आगो अलिकति बल्दा स्याउँलाले निभ्छ । भोलि ह्वार–ह्वारती बल्दा सकिँदैन ।’, उनले भने ।

अन्तराष्ट्रिय मिसनबाट परिचालितहरूलाई ठेगान लगाउन जस्तो सुकै कदम चाल्न समेत कार्यकर्तालाई आग्रह गरे । अन्तराष्ट्रिय मिसनबाट परिचालितहरूलाई ठेगान लगाउँदा जे परे पनि पार्टीले ब्यहोर्ने उनको भनाइ छ ।

‘सकभर मुखले सम्झाउनुस्, मानेनन् भने हात-गोडा के-के ले सम्झाउने हो, सम्झाउनुस, परेको कुरा पार्टीले ब्यहोर्छ, हामी व्यहोर्दैछौँ’, नेता बस्नेतले भनेका छन् । हाल एमालेका नेता बस्नेतले दिएको अभिव्यक्तिले सामाजिक सञ्जाल नै तताएको छ । उनको सो अभिव्यक्तिलाई लिए सामाजिक सञ्जालमा चर्को आलोचना र बहस भइरहेको छ ।