फोहोरको कसिङ्गर बढार्छु भनेर राजनीतिमा होमिएका रवि पनि उस्तै !

फोहोरको कसिङ्गर बढार्छु भनेर राजनीतिमा होमिएका रवि पनि उस्तै !


काठमाण्डु- गत मंसिर ४ गते भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो । पुराना दलहरुप्रतिको वितृष्णाले जन्मिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका साना दलहरुसँग जनताको ठूलो अपेक्षा थियो ।

त्यहीकारण होला पार्टी गठन गरेको ६ महिना नपुग्दै राष्ट्रिय पार्टीका २० सांसदलाई जनताले संसदमा पठाए । सभापति रवि लामिछानेको नेतृत्वमा ३ मन्त्रीसहित १ राज्यमन्त्री सरकारमा पनि सहभागि छन् ।

त्यसमध्ये लामिछानेले उप-प्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उसो त नागरिकता विवाद सार्वेच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै आलोचनासमेत भइरहेको छ । तर, मन्त्री नियुक्त भएको १ महिना नबित्दै रविले आफैले आफैलाई गिराउन थालेका छन् ।

गत पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा हत्या अभियोग लागेका लक्ष्मी महतो कोईरी पनि उपस्थित थिए । जबकि उनलाई अदालतले समेत पक्राउ गर्न प्रहरीलाई निर्देशन दिईसकेको छ । तर, गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका लामिछानेले हत्या अभियोग लागेका संसद संसदमै उपस्थित भएर ढुक्कसंग मतदान गरेको देखेनन् ।

गत माघ ५ गते प्रतिनिधिसभाको बैठकमा पनि कोईरी उपस्थित भएका थिए । उक्त बैठकमा पनि नेपाली कांग्रेसका सांसदहरुले यसबारे प्रश्न उठाए । बैठक सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री छामिछानेले पक्राउ गर्न निर्देशन दिईसकेको बताए । तर, निर्देशन दिएकै एक साता बितिसक्दा समेत कोईरी पक्राउ परेका छैनन् । गृहमन्त्रालयले भने पक्राउ गर्न निर्देशन दिएको भन्दै विज्ञप्ति मात्र जारि गरिरहेको छ ।

त्यसबारेमा बिहीबारको प्रतिनिधिसभा बैठकमासमेत नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नाम नलिईकन सांकेतिक रुपमा सम्झाइदिए । ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन । गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो?’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री र अभियुक्त सांसद एउटै लाइनमा रहेको भन्दै सांसद खतिवडाले प्रश्न गरे, ‘के माननीय सदस्यले अपराधीलाई चिनाइदिने हो? गृह मन्त्रीलाई हत्कडी लिएर आउनुस् भनेको हो?’

लगत्तै संसद बैठकमा आफ्नो पालोमा बोल्दै गृहमन्त्री लागिछानेले त्यसबारेमा जोगिएर जवाफ दिए । उनले आफूले सम्हालेको मन्त्रालय विधि र पद्धतिबाहिर नजाने बताउदै प्रकृयामा रहेको जवाफ दिएर आफैलाई जोगाउने काम गरे ।

‘हालको सत्ता गठबन्धनको ठूलो दलकै कारण आफू गृहमन्त्री बनेको हेक्का राख्दै एमालेकै छत्रछायामा मन्त्री बनेका रविले कोईरीलाई पक्राउ गर्दा उनको पद जोखिममा पर्नसक्ने कारणले हुनसक्छ’ उनले आफू जोगिने अभिव्यक्ति दिदैँ आएका छन् ।

त्यस्तै गृहमन्त्री बनेकै दिन लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै भएको आलोचना पचाएर काम गरिरहेका लामिछानेले मन्त्रीमण्डलमा आफ्नो पार्टीबाट म्यानपावर व्यवसायी डोलप्रसाद अर्याललाई अर्को स्वार्थ बाझिने मन्त्रालय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मवारी दिए ।

यस बिषयमा भने लामिछाने प्रमाण देखाए कारवाही गर्ने बताउँछन् । तर, मन्त्री अर्याल अनेभरसिज ईम्प्लोयमेन्ट सर्भिसको अन्तराष्ट्रिय बजार निर्देशक रहेको स्पष्ट छ । कम्पनीको वेबसाईको मेम्बरमा मात्रै होईन सामूहिक तस्करिमासमेत उनी नजर आउँछन् ।

फोहोरको कसिङ्गर बढार्छु भनेर राजनीतिमा होमिएका रविका प्ररम्भीक गतिविधि हेर्दा उनी पनि तीनै फोहोरको डङ्गुरमा फसिसकेको स्पष्ट हुन्छ । जनताले ठूलो आशासहित संसदमा पठाएका रविले पछिल्लो समय आफैले आफैलाई गिराउदैँछन् ।