काठमाण्डु –सर्वोच्च अदालतले नागरिकता प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई दोषि ठहर गरेको छ । नागरिकतासम्बन्धी विवादमा आएका गृहमन्त्री लामिछाने विरुद्धको रिटमा फैसला गर्दै सर्वोच्चले उनलाई दोषि ठहर गरेको हो ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले उनिविरुद्ध फैसला गरेको हो । रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै अदालतको फैसलाअनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको रिटमा फैसला गरेको हो । गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
राष्ट्रिय स्वतन्त पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछानेलाई अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले पुरानै नागरिकता प्रयोग गरेको आरोप छ ।
उनले दल दर्ता गर्दा र प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको प्रमाण खुलेको थियो । लामिछानेले पुरानै नागरिकतामा राहदानी समेत लिएको थियो ।
नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।




प्रतिक्रिया