काठमाण्डु– रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलको पेसी स्थगित भएको छ।
बुटवल इजलास र पाटन उच्च अदालत दुवै तिर मुद्दाको पेसी चढेको र कानुन व्यवसायी एकैपटक दुईवटा अदालतमा उपस्थित हुन नसक्ने भन्दै बुटवलको पेसी स्थगित गरिएको हो ।
न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको मुद्दामा रविको पक्षका कानुनी व्यवसायीले दुइ तिर एकैपटक नभ्याउने भन्दै निवेदन दिएपछि पेसी स्थगित भएको हो ।
बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै दिएको निवेदन बुटवल इजलासमा छ भने काठमाण्डको स्वर्णलक्ष्मी सहकारी मुद्दामा उनीविरुद्ध काठमाण्डु जिल्ला अदालतले गरेको आदेश ७३ नम्बरको निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
काठमाण्डु र बुटवलका दुई अदालतमा एकै दिन पेसी तोकिएपछि कानुनी प्रतिरक्षाका लागि कसरी सहभागी हुने भन्ने विषयमा कानुन व्यवसायीहरूले छलफल गरेका थिए ।
यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीबारे सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो। सोही मिसिल प्राप्त हुने अपेक्षासहित बिहीबारका लागि पेसी तोकिएको थियो।




प्रतिक्रिया