रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य, शिक्षण अस्पतालमा उपचार जारी

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य, शिक्षण अस्पतालमा उपचार जारी


काठमाण्डु – देब्रे खुट्टामा देखिएको संक्रमणका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्यमा सुधार भइरहेको छ ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले लामिछानेको अवस्था अहिले सामान्य रहेको र उनलाई नशाबाट ‘आईभी एन्टिबायोटिक’ दिएर उपचार भइरहेको जनाएका छन् ।

गत माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रमका क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । सुरुमा औषधि सेवन गरे पनि सञ्चो नभएपछि संक्रमण फैलिएर ‘सेलुलाइटिस’को रूप लिएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले बताइन् । संक्रमण थप जोखिमयुक्त हुन सक्ने आकलन गर्दै चिकित्सकको सल्लाह बमोजिम उनलाई केही दिन अस्पतालकै निगरानीमा राख्ने निर्णय गरिएको छ ।

सहप्रवक्ता रावलका अनुसार चोट आफैंमा गम्भीर नभए पनि संक्रमणलाई पूर्ण रूपमा निको पार्न अस्पतालको बसाइ आवश्यक देखिएको छ । पूर्ण स्वास्थ्य सुधारपछि मात्र लामिछाने पुन: आफ्नो नियमित राजनीतिक तथा साङ्गठनिक दौडधुपमा फर्किने पार्टीले जनाएको छ ।