‘सभामुखले हलो अड्काए’को विपक्षीको आरोपपछि संसदको गत्यावरोध हटाउन अग्रसर भए रवि लामिछाने

‘सभामुखले हलो अड्काए’को विपक्षीको आरोपपछि संसदको गत्यावरोध हटाउन अग्रसर भए रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसदमा जारी गत्यावरोध अन्त्यको प्रयास गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा लामिछानेले संसदमा जारी गत्यावरोध कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे संवाद् गरेका हुन् ।

रास्वपा महामन्त्री एवं संसदीय दलका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले संसदमा जारी गत्यावरोध अन्त्य गर्नेबारे विपक्षी दलहरुसँग छलफल गरेको जानकारी दिए ।

‘बैठकमा रास्वपा सभापति रवि लामिछानेले भर्खरै सम्पन्न भएको भारत भ्रमणबारे जानकारी गराउनुभएको छ’, बुर्लाकोटीले ह्वाट्स एप ग्रुपमार्फत पत्रकारहरुलाई पठाएको म्यासेजमा लेखेका छन्, ‘संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल गर्नुभएको छ ।’

नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्ति तथा सभामुख डोलप्रसाद अर्यालले विपक्षीको नाराबाजीबीच नयाँ संसद नियमावली बहुमतले पारित भएको घोषणा गरेको विरोधमा विपक्षीले संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्दै आएका छन् ।

विपक्षीले सभामुख अर्याल सत्तारुढ रास्वपाबाट परिचालित रहेको तथा ‘रेफ्री’ को भूमिकामा बस्नुपर्नेमा खेलाडीका रुपमा मैदान प्रवेश गरेकाले समस्या समाधानका लागि उनीसँग वार्ता गर्नुको औचित्य नभएको अडान लिएपछि लामिछाने समस्या समाधानका लागि आफैं अग्रसर भएका हुन् ।

‘हामीले हलो जताबाट अड्काइएको हो, उतैबाट समस्या समाधान होस् । सभामुखसँगको छलफलबाट निस्कर्ष आउँदैन भनेका थियौं’, नेकपा प्रमुख सचेतक युवराज दुलालले भने, ‘रास्वपा सभापति समस्या समाधानका लागि आफैं अग्रसर हुनु सकारात्मक हो ।’