५ वर्षभित्र मेरो खुट्टामा बल आएछ भने बालेनको खुट्टामा पास दिनेछुः रवि लामिछाने

५ वर्षभित्र मेरो खुट्टामा बल आएछ भने बालेनको खुट्टामा पास दिनेछुः रवि लामिछाने


चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच निर्वाचनअघि भएको सहमतिमा कुनै तलमाथि नहुने प्रतिबद्धता जनाएका छन् ।

आइतबार चितवनको भरतपुरमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले संसदको ५ वर्षे कार्यकालभरि बालेन्द्र नै प्रधानमन्त्री रहने स्पष्ट गरे ।

रास्वपामाथि जनताले गरेको आशा र भरोसाविपरीत नचल्ने भन्दै उनले रास्वपालाई लडाउन भइरहेका प्रयासमा चनाखो हुनुपर्ने बताए ।

‘म यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु । हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर जुन सहमति गरेका छौँ’, लामिछानेले भने, ‘त्यो एकएक अक्षर इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रण गर्दछु ।’

आफूले सरकार सञ्चालनका लागि चुनावअघि नै बालेनलाई जिम्मेवारी दिएको स्मरण लामिछानेले गरे ।

चुनावअघि नै बालेनको खुट्टामा गोल हान्ने जिम्मेवारी दिएको र सरकारले अब फटाफट गोल हान्ने लामिछानेले बताए ।

‘यहाँ मुख मिठ्याउने र चुक्ली लगाउने धेरै छन्’, उनले भने, ‘यदि झुक्किएर बल मेरो खुट्टामा आएछ भने पनि म बालेनजीको खुट्टामा पास दिनेछु ।’