काठमाण्डु– कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा उठेका प्रश्नहरूको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् । आइतबार मन्त्रालयमा बिदाइ पत्रकार सम्मेलन गर्दै लामिछानेले विवादमा आएका विषयको अध्ययन अनुसन्धान अघि बढाउन प्रहरीलाई आग्रह गरेका हुन्।
आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने लामिछानेले बताए । उनले आफू गृहमन्त्री भए पनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताउँदै गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने बताए।
राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सुनको अनुसन्धान छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको बताए। उनले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको उनको भनाइ थियो ।
लामिछानेले ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई पक्राउका लागि इन्टरपोलसँग निरन्तर संवादमा रहेको बताउ्रँदै भने, ‘दुईपटक त मेरो मलेसियाका गृहमन्त्रीसँग कुराकानी भयो । त्यहाँका गृहमन्त्रीसँग भएको छलफल जतिखेर पनि जानकारी गराउन तयार छु ।’ आफ्नो कार्यकालमा राईलाई पक्राउ गर्न नसके पनि प्रधानमन्त्रीको तहबाट प्रयास गर्ने कुराकानी हुँदै गर्दा सरकार परिवर्तन हुन लागेको लामिछानेले बताए ।
उनले काम गर्ने क्रममा आफ्नो हतारोका कारण कहीँ कतै चोट लागेको भए क्षमा दिन आग्रह गर्दै आफूले केही ख्याति कमाएको भए पनि प्रहरी कर्मचारीको सहयोगकै कारण पाएको बताए । ‘जस अपजसमा म तपाईँहरूको साथमा छु । हुन त तपाई हामी फेरि भेट्छौ’, उनले भने ।
अब आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको गृह मन्त्रलयमा बाहिर बसे पनि २४ सै घण्टा रहिरहने बताए ।




प्रतिक्रिया