सहारा चितवनको झण्डै ११ करोड अपलचनमा रविको संलग्नता !

सहारा चितवनको झण्डै ११ करोड अपलचनमा रविको संलग्नता !


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहारा चितवन सहकारी संस्था ठगीमा संलग्नता रहेको प्रतिवेदन प्रहरीले तयार पारेको छ । प्रहरीले रविसहितको संलग्नता रहेको दाबीसहित बुझाएको प्रतिवेदनलाई आधार मानेर आज जिल्ला अदालत चितवनमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोग प्रतिवेदनमा लगाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न रायसहितको प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अभियोगपत्र तयार गरिसकेको र आज मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए।

‘आजै मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छौँ, आज भ्याउँदै भ्याइएन भने भोलि होला,’ लुइँटेलले भने।

अनुसन्धान प्रतिवेदनमा पूर्वगृहमन्त्री रवि लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउने तयारी छ । प्रहरीले अभियोजन पत्रमा रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको देखिएकोले रविसहित गोरखा मिडियाका चार जना सञ्चालकका नाममा कायम गरिएको जनाएको छ।

बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए। सहकारीबाट जीबी राईसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ६ वटा कम्पनीमा गैरकानुनी तरिकाले ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको निष्कर्ष प्रहरीको छ ।

रविले यसअघि बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका छन् भने सूर्यदर्शन सहकारी ठगीमा कास्की अदालतमा ६५ लाख र स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौँ अदालतमा ६० लाख धरौटी बुझाएका छन्।