काठमाडौं – धरौटीमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले अब झन खरो रुपमा उत्रिने बताएका छन् ।
मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै लामिछानेले जनताको विश्वासलाई गुम्न नदिने बताए ।
उनले भने, ‘मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया स्नेह र आस्था रहेछ । उहाँहरुप्रति म आभार प्रकट गर्दछु र उहाँहरुको पक्षमा अझ खरो रुपमा उत्रिनेछु ।’
उनले आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विकल्प हुनसक्ने उनले बताए ।
पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’
यद्यपि उनले सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए । केही लागेन भने राजनीति विकल्प बन्न सक्ने उनले बताए ।
‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ,’ उनले भने, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’
उनले भने, ‘राजनीतिज्ञ कस्तो हुनुपर्छ, लिडर कस्तो हुनुपर्छ भनेर आम सर्वसाधारणलाई सचेत गराउन सकेमा र जनताले आफ्ना लागि आफ्नो भविष्य कोर्ने राजनीतिज्ञ छान्ने क्षमता राख्नुभयो भने राजनीतिमा हाम्रो कुनै आवश्यकता छैन । सिक्नुपर्ला, तर मैले आज जानेको चिज राजनीति होइन ।’




प्रतिक्रिया