गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन

गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् । 

महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताएका हुन् । 

‘हामीले पनि गुटउपगुट बनायौं भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन । फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ,’ उनले भने, ‘५२ लाख जनताले विवेक प्रयोग गरेर हामीलाई जिताउनुभयो, त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्छ ।’

प्रतिनिधि चयन गर्दा विवेकपूर्वक गरिनुपर्ने उनको भनाइ थियो । 

प्रतिनिधिहरूले तिरेको पाँच हजार ऐच्छिक बनाइएको भन्दै उनले त्यही पाँच हजार आवश्यक परे फिर्ता लैजान सक्ने बताए । 

‘तपाईंले तिरेको पाँच हजार चाहेमा फिर्ता लिन सक्नुहुनेछ,’ उनले भने, ‘यति दिन बस्दा खर्च धेरै भएको छ, सक्नेले आफ्ना साथीको तिरिदिन्छु भन्नुभयो भने राम्रो हुन्छ ।’

 महाधिवेशन निर्वाचनको सन्दर्भमा उनले जसले जिते पनि घण्टीले जित्ने विश्वास व्यक्त गरे। 

सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारे । 

उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताए ।

पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको भन्दै उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गरे। 

उनले भने, ‘रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ ले चल्ने पार्टी हो ।’

पार्टीभित्र हुने सामान्य असन्तुष्टि र मनमुटावलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराए । 

रास्वपा आफ्ना सबै मतभेद अन्त्य गर्न सक्ने पार्टी भएको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उनले बिना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गरे ।