राजाका नाममा बालेनलाई उक्साउन खोजेका लिङदेनलाई जब रवि लामिछानेले रातो बत्ती देखाइदिए…

राजाका नाममा बालेनलाई उक्साउन खोजेका लिङदेनलाई जब रवि लामिछानेले रातो बत्ती देखाइदिए…


चितवन– आफूहरुले पार लगाउन नसकेको राजतन्त्र पुनस्थापनाको एजेण्डा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोकोस् भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनको आकांक्षामा रास्वपा सभापति रवि लामिछानेले ‘रातो बत्ती’ बालिदिएका छन् ।

रास्वपाको प्रथम महाधिवेशन उदघाटन समारोहलाई आइतबार भरतपुरमा सम्मबोधन गर्ने क्रममा लिङ्देन उक्त दलले राजतन्त्रको झण्डा बोक्नेमा बढी आशावादी देखिए ।

उनले आशा मात्र राखेनन्, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राजा ल्याइदिन्छन् भन्ने विश्वासमा राजावादीहरुले घण्टीमा भोट दिएको बताए ।

अन्तिम वक्ताका रुपमा महाविधेशन उदघाटन सत्रलाई सम्बोधन गरेका लामिछानेले स्पष्ट भाषामा जवाफ फर्काए, ‘रास्वपाले राजतन्त्रको झण्डा बोक्दैन ।’

लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, समावेशीता समतामुलक समाजजस्ता राजनीतिक एजेण्डाको स्वामित्व मात्र लिएनन्, त्यसलाई इतिहास र अघिल्लो पुस्ताले दिएको अमूल्य उपहारको संज्ञा दिए ।

ती उपहारको रास्वपाले माया र जर्गेना गर्ने प्रतिबद्धता जनाए । लामिछानेले यस अगाडि भएका तमाम आदोलनहरुको तिरस्कार गर्ने शाहस आफूहरुमा नरहेको स्पष्ट गरे ।

लामिछानेको यो भनाइ लिङ्देन लक्षित त छँदै थियो, सम्मेलन सफलताको शुभाकामना दिने क्रममा कांग्रेस सभापति गगनकुमार थापा, एमाले नेता प्रदीपकुमार ज्ञवाली, नेकपा नेता वर्षमान पुन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई जवाफ पनि थियो । थापा, ज्ञवाली, पुन, यादव र राउतले संविधान, गणतन्त्र, संघीयता, समावेशीताजस्ता विषयमा महाधिवेशनमार्फत रास्वपाले आफ्नो नीति स्पष्ट गरोस् भन्ने आकांक्षा राखेका थिए ।

‘म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरुलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला । देश रास्वपाको हातमा छ, देश सुरक्षित छ । लोकतन्त्रका स्थायी मान्यताहरु, शक्तिपृथकीकरणका सिद्धान्तहरु, संविधान, संघीय लोकतात्रिन्क गणतन्त्र, नागरिक हकअधिकार, मानवअधिकारको प्रत्याभूति, समतामुलक समाज, समावेशीता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईंहरुजस्ता मुर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो’, लामिछानेले भने, ‘हामी त्यसको जर्गेना गर्नेछौं । त्यसलाई माया गर्नेछौं । त्यसबाट बाहिर जाने छैनौं । यस अगाडि भएका तमाम आदोलनहरुको तिरस्कार गर्ने साहस हामीमा हुनेछैन । त्यो कदम हामी कदापि चाल्ने छैनौं । म यहाँहरुलाई निर्धक्क रहन आग्रह गर्न चान्छु र रास्वपाले त्यो लाइन क्रस गर्दन । यहाँहरु निर्धक्क भएर यहाँबाट जानुहोला ।’

लामिछानेले यति स्पष्ट हुने गरी वर्तमान संविधान र प्रणालीको सार्वजनिक रुपमा यसअघि स्वामित्व लिएका थिएनन् ।
लिङ्देनले व्यवस्था र संविधान मात्र होइन, त्यो व्यवस्था ल्याउने पुराना राजनीतिक नेतृत्वप्रति पनि बदला लिइयोस् भन्ने आशय बोले ।

तर, लामिछानेले त्यसभन्दा अघि बढेर कांग्रेस र एमालेको आन्तरिक जीवनमा आइपरेको अप्ठ्यारो सुल्झियोस् भन्ने सदिक्षा प्रकट गरे ।

कांग्रेस र एमालेका अप्ठ्यारा सम्बन्धित दलका मात्र नभई मुलुककै अप्ठ्यारा रहेको लामिछानेले बताए ।

मुलुकका अप्ठ्याराका अगाडि व्यक्तिका निजी अप्ठ्याराको अर्थ नहुने भन्दै उनले विगतका बैमनस्यता र तिक्तता त्यागेर अघि बढ्ने स्पष्ट गरे ।

प्रतिशोध साँध्ने दिशामा अघि बढे आफूहरुले इतिहासलाई जवाफ दिनुपर्नेबारे जानकार रहेको सन्देश लामिछानेले दिए ।