काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवंम् काठमाडौ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले थप आर्थिक सहयोग नगर्न शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । मिश्रले मंगलबार विज्ञप्ति जारी गर्दै २५ लाख भन्दा बढी रकम जुटिसकेको अवस्थामा थप सहयोग नगर्न आग्रह गरेका हुन् ।
उनले एउटा भिडियो सन्देश सामाजिक सञ्जालमार्फत् जारी गरेर आफुलाई सहयोग रकम नपठाउन अपील समेत गरेका छन् ।
मिश्रले भनेका छन् ‘ मैले गत २०७४ को चुनाव पनि आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन आयोगले तोकिदिएको २५ लाख रूपैयाको खर्च सीमाभित्र बसेर राम्रैसँग प्रतिष्पर्धा गरेको थिएँ। यस पटक पनि त्यसमा म उत्तिकै प्रतिवद्ध छु। मैले चुनावी अभियानका लागि आर्थिक सहयोग गरिदिन केही हप्ता अगाडी सार्वजनिक अपील गरेकोमा मलाई विश्वास गर्ने धेरै सहृदयी शुभेच्छुकहरूले गच्छे अनुसारको सहयोग गर्नुभएको छ। र, यसरी करिब २५ लाख रूपैया जुटिसकेको छ। अब मलाई सहयोग रकम नपठाउन अपील गर्दछु । ’
मिश्रले चुनाव जित्न अधिकांश उम्मेदवारहरूले निर्वाचन आयोगको सीमाभन्दा कयौँ गुणा बढी करोडौँ करोड खर्च गर्ने गरेको परिप्रेक्ष्यमा गत निर्वाचनमा र यस पटक पनि सीमाभित्र बसेर पारदर्शी, व्यवस्थित र निकै प्रभावकारी चुनावी अभियान सञ्चालन गर्नेमा आफु निकै थोरै उम्मेदवारमध्ये एक रहेको दावी गरेका छन् ।
उनले आफ्नो यो सन्देश धेरै भन्दा धेरै मतदाताकहाँ पुगोस् र देशको जुनसुकै क्षेत्रमा रहेका उम्मेदवारहरूले पैसा खन्याएर मतदाता प्रभावित गर्न भड्किलो र खर्चिलो अभियान चलाएको भेटिँदा सचेत मतदाताले खवरदारी गरून् भन्ने उद्देश्यले सार्वजनिक गरेको बताएका छन् ।




प्रतिक्रिया