शेखर कोइरालाई रविन्द्र मिश्रको सुझाव-राजनीतिक कित्ता स्पष्ट पार्नुस्

शेखर कोइरालाई रविन्द्र मिश्रको सुझाव-राजनीतिक कित्ता स्पष्ट पार्नुस्


काठमाण्डु – राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई आफ्नो राजनीतिक कित्ता स्पष्ट पार्न सुझाव दिएका छन् । कोइरालाले आफूलाई विपिवादी वा प्रचण्डवादीमध्ये एउटा कित्तामा उभ्याउनुपर्ने मिश्रले सुझाव दिएका छन् ।

नेता कोइरालाको नाममा फेसबुकमा खुलापत्र लेख्दै मिश्रले कोइरालाका चारवटा अभिव्यक्तिलाई उद्दृत गरी ९ बुँदामा आफ्नो टिप्पणी राखेका छन् ।

वीपी कोइरालाको सच्चा अनुयायी भए सबैभन्दा माथि देशलाई राख्ने कि पदलाई भन्दै उनले कोइरालालाई प्रश्न पनि गरेका छन् ।

कोइरालाको भनाइप्रति लक्षित गर्दै मिश्रले लेखेका छन्, ‘यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ ? यो पाराले तपाईँ प्रधानमन्त्री नै भए पनि तपाईँ सिङ्गो नेपालको होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री हुने हो। तपाईँलाई देशको भन्दा प्रधानमन्त्री पदको माया ?

मिश्र लेख्छन्, ‘पत्रको शुरू नै यसरी गरौँ देशको अवस्था त्यति खराब छ भने, तपाईँ गर्न सक्ने ठाऊँमा भएको मान्छे, के हेरेर बस्नुभएको ? कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट तपाईँसमेत ग्रस्त भएको देख्दा, मेरो तपाईँप्रतिको सम्मानमै प्वाल पर्न लागिसक्यो, जुन म चाहन्न ।’

यस्तो छ मिश्रले कोइरालालाई लेखेको पत्र

अलि खरो ९-बुँदे खुलापत्र !

पहिले, उहाँको भनाइ :

– देशलाई अभिभावकको खाँचो छ।

– देशको राष्ट्रियता अत्यन्त नाजूक अवस्थामा छ।

– राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बच्दैन।

– प्रजातन्त्र/लोकतन्त्र ‘छाडातन्त्र’ भइसकेको छ।

अब मेरो अलि खरो पत्र :

पत्रको शुरू नै यसरी गरौँ — देशको अवस्था त्यति खराब छ भने, तपाईँ “गर्न सक्ने” ठाऊँमा भएको मान्छे, के हेरेर बस्नुभएको ?

कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट तपाईँ समेत ग्रस्त भएको देख्दा, मेरो तपाईँप्रतिको सम्मानमैँ प्वाल पर्न लागिसक्यो, जुन म चाहन्न ।

१- वीपी कोइरालाको सच्चा अनुयायी भएर तपाईँ सबैभन्दा माथि देशलाई राख्ने कि पदलाई? के वीपीले त्यही सिकाएका थिए तपाईँलाई? #विचारभन्दामाथिदेश लाई राखेका होइन, वीपीले ?

२- चुनावमा नयाँ-नयाँ मिले भने खुब बन्नुहोला तपाईँ प्रधानमन्त्री ! सबै नयाँ नमिल्दा त तपाईँको पालो नआउला जस्तो देख्खिसक्यो। तपाईँचाहिँ ‘आकाशको फल’ हेरेर जहिले पनि ल्याङल्याङ कुरा गरेर बसिराख्नोस्।

३- वीपीजस्तै राजनेता हुनेभए ड्याम्म एउटा पत्रकार सम्मेलन गर्नोस्, ‘यो, यो, यो’ कारणले देश र काँग्रेसलाई ‘वीपीपथ’ मा लैजानै पर्ने भयो भन्नुस्। प्रचण्डको कमिजको फेर समातेर नबस्नोस्। तपाईँ सहजताका साथ कांग्रेस सभापति र प्रधानमन्त्री दुबै बन्नुहुन्छ।

४- प्रचण्डमार्गी काँग्रेसी, भूराजनीतिमा पोख्त छिमेकीले के भन्छन् र सभापति/प्रधानमन्त्री बन्न पाउँला/नपाउँला भनेर सोच्न छोडिदिनोस्।

५- छिमेकीले पनि जेन-जी विद्रोहपछि नेपालमा राजसंस्था भएन भने त्यसको असर अब उनीहरूलाई समेत पर्छ भन्ने अलिअलि बुझिसके। अब केही समयमा पुरै बुझ्नेछन्। अनि त्यसपछि तपाईँ “मैले त राजालाई पूर्वराजा भन्दिन भनेकै थिएँ नि” भन्दै लुरूक्क परेर #मार्गपरिवर्तन गर्ने होला, होइन ?

६- यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ? यो पाराले तपाईँ प्रधानमन्त्री नै भए पनि तपाईँ सिङ्गो नेपालको होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री हुने हो। तपाईँलाई देशको भन्दा प्रधानमन्त्री पदको माया ?

७- देश यस्तो अवस्थामा पुग्दा पनि कोइरालाको रगत र वीपीको आस्था बोकेको मान्छेको हालत यस्तो देख्दा मलाई दुख लागेको छ !

८- देश #नवीसमझदारी मा जाने लगभग निश्चित छ। गएन भने विस्तारै या अनपेक्षितरूपमा, तपाईँले नै भने झैँ, #अस्तित्वकोसंकट मैँ जाने हो। त्यसैले, ठूलो, र वीपीको दलको नाताले #नवीनसमझदारी को नेतृत्व गरेर राजनेता बन्नोस्। होइन भने प्रचण्डको फेर समातेर हल्लिरनोस्! विराटनगर गएर “के सोचेँ मैले, के भयो अहिले” भनेर गीत गाएर बस्नोस्।

९- कि प्रष्ट भन्नुस्, म प्रचण्डवादी हुँ भनेर, कि प्रष्ट भन्नुस्, म वीपीवादी हुँ भनेर। यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन।

यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैन। बाँकी तपाईँको इच्छा !

तपाईँको शुभचिन्तक

रवीन्द्र मिश्र