काठमाण्डु – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समान सोच भएका पार्टी, समूह र व्यक्तिसँग एकीकरण गर्ने तयारी भइरहेको खुलासा गरेका छन् ।
उनले ध्रुवीकरण गर्ने, पार्टीमा भएका कमजोरी सम्बोधन गर्ने र पार्टी पुनर्गठन र सुदृढिकरण गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षर गर्न सक्ने पार्टी निमाणको लक्ष्य लिएको बताएका हुन् ।
‘तर जे भए पनि हामीले हाम्रो यात्रा कायम राख्नुपर्ने हुन्छ । अझ दृढताका साथ अघि बढ्नुपर्ने हुन्छ । यात्राको नियम नै यही हो । राजनीतिमा दशकौँदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज छैन । त्यसका लागि आदर्शमात्र भएर पुग्दैन राजनीतिक सुझबुझ र व्यावहारिकता दुबैको खाँचो हुन्छ । त्यो खाँचो पुरा गर्न हामी प्रतिवद्ध छौँ’, उनले भनेका छन्, ‘यसै परिप्रेक्षमा साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग (१) ‘एकीकरणरध्रुवीकरण’ गर्ने, त्यसै क्रममा पार्टीमा भएका कमी कमजोरीलाई सम्वोधन गर्न पार्टी (२) ‘पुनर्गठन’ गर्ने र पार्टी (३) ‘सुदृढीकरण’ गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुबको निर्माण गर्ने लक्ष्य लिएको छ । यो आदर्श र यथार्थको धरातलमा आधारित राजनीतिक सुझबुझ हो भन्ने हाम्रो धारणा हो । यसका लागि हामीले कार्य प्रारम्भ गरिसकेका छौँ ।’
शुक्रबार सामाजिक सञ्जालबाट एक सन्देश सार्वजनिक गर्दै संयोजक मिश्रले आफ्नो यात्रा कायम राख्नुपर्ने भन्दै धैर्य गर्न सम्पूर्ण पार्टी सदस्यलाई आग्रह गरेका हुन् ।
‘यो हप्ता पार्टीमा विकसित घटनाक्रमबाट हामीजस्तै तपाईं पनि चिन्तित हुनुहुन्छ भन्नेमा म सचेत छु । पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौँ’, मिश्रले सन्देशमा भनेका छन्, ‘तर केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गऱ्यौँ । त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो । त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो ।’




प्रतिक्रिया