काठमाण्डु – आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष जगत बरामले प्रेस वक्तव्य जारी गर्दै मिश्रको संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव गैरसंवैधानिक र गैरराजनैतिक भएको बताएका छन् ।
उनले भनेका छन्, ‘यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ । यस्ताखाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं ।’
संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्धमा लाग्ने जो कसैलाई पनि कारवाहीको दायरामा ल्याउन महासंघले नेपाल सरकारलाई आग्रहसमेत गरेको छ ।
विवेकशील साझाका अध्यक्ष मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘मार्ग परिवर्तनःविचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज सार्वजनिक गरेका थिए । जसमा स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने विषयलाई मुख्य रुपमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया