काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच सामाजिक सञ्जाल ट्वीटरमा बहस भएको छ ।
मिश्रले गरेको ट्वीटको जवाफमा प्रधानमन्त्रीका सल्लहाकार रिमालले मर्यादा नाघेको भन्दै सीमामा बस्न भनेपछि उनीहरुबीच ट्वीटरमा विवाद बढेको हो । शनिबार साँझ मिश्रले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ट्वीट गरेका थिए ।
उनले लेखेका थिए, ‘कस्तो समय आयो ! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरिक हुने । अब अति भो !’
मिश्रको यो ट्विटको जवाफ दिदै रिमालले कमेन्टमा लेखेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’
मिश्रले रिमालको ट्वीटलाई जवाफ दिदै लेखेका छन्, ‘प्रिय@BishnuRimal जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरूपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो । विमति जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझावमात्र ।’
ट्वीटरमा वार गरेका रिमाल र मिश्रका ट्वीट अहिले चर्चामा छन् । ट्वीटरमा वार परेपछि त्यही स्क्रिनसट राखेर मिश्रले फेसबुकमा लेखेका छन्, ‘धम्की नै धम्की !’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपाभित्रका दुई पक्ष आरोप पत्यारोपमा उत्रिएका छन् ।




प्रतिक्रिया