काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता एवं पूर्व संयोजक रविन्द्र मिश्रबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साझँ ओलीनिवास बालकोटामा साढे दुई घण्टा भेटवार्ता भएको हो ।
आइतबार साँझ बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका मिश्रले सोमबार बिहान सामाजिक सञ्जालमार्फत ‘ओलीजीसँग अढाई घण्टा !’ भन्दै भेटवार्ताबारे जानकारी दिएका हुन् ।
भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, ओलीका राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य विषयमा कुराकानी भएको मिश्रले जानकारी दिएका छन ।
उनले लेखेका छन्, ‘तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ? मैले सोधेँ। उहाँले भन्नुभयो, म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु। उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२÷०१ नबजी सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ ।’
कुराकानीको क्रममा ओलीले आफूलाई राजनीतिको मैदानमा नआत्तिन सल्लाह दिएको पनि उनले बताएका छन् । ’उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनु होला ।’
भेटमा ओलीले मिश्रलाई चुच्चे नक्सासहितको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएका थिए ।




प्रतिक्रिया