काठमाण्डु-१ : पहिला सहकर्मी, अहिले प्रतिस्पर्धी

काठमाण्डु-१ : पहिला सहकर्मी, अहिले प्रतिस्पर्धी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु–१ मा एउटै दलका पूर्व सहकर्मीहरूबीच रोचक प्रतिस्पधा हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रबीचको प्रतिस्पर्धा रोचक हुने भएको हो । किनभने दुवै जना पूर्व सहकर्मी हुन् । उनीहरू कुनैबेला तत्कालीन विवेकशील साझा पार्टीमा सक्रिय थिए ।

मिश्र हाल हिन्दू राज्य र राजसंस्थाको पक्षमा वकालत गर्दै राप्रपामा छन् भने दर्शना हालै रास्वपा प्रवेश गरेकी हुन् ।

यसपटक दुवै जना काठमाण्डु–१ बाट निर्वाचनमा होमिएका छन् । चुनाव लड्न नै दर्शना रास्वपाको समानुपातिक सूचीबाट बाहिरिएकी हुन् ।

दर्शना २०७२ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकाको मेयर पदको उम्मेदवार बनेकी थिइन् ।

उक्त निर्वाचनमा उनले २३,४३९ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला २१ वर्षकी मात्र रहेकी दर्शना देशकै सबैभन्दा कान्छी उम्मेदवार मात्र होइन, मेयरको प्रतिस्पर्धामा तेस्रो धेरै मत ल्याएर देशभर चर्चामा आएकी थिइन् ।

विवेकशील र साझा पार्टीबीच भएको विभाजन र एकीकरणपछि तटस्थ रहँदै आएकी दर्शना विवेकशील साझा पार्टीका अन्य केही नेताहरूसहित मंसिर १४ गते रास्वपामा प्रवेश गरेकी हुन् ।

२०७७ मा उनले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका रविन्द्र मिश्रलाई राजीनामा पत्र बुझाउँदा मिश्रमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएकी थिइन् । विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष मिश्रले २०७९ को निर्वाचनमा पार्टीले कमजोर प्रदर्शन गरेपछि राजीनामा दिएका थिए ।

राजीनामा दिएको सोही वर्ष मिश्र राप्रपामा प्रवेश गरेका थिए र त्यसयता राजसंस्था तथा हिन्दू राज्य पुनःस्थापनाका प्रबल समर्थक र वकालत गर्दै आइरहेका छन् ।

रोचक के छ भने राप्रपाका मिश्र र रास्वपाकी दर्शना आगामी फागुन २१ ग्ते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु–१ बाट आमनेसामने हुनेछन् ।

सोही क्षेत्रबाट नेपाली कांग्रेसका प्रबल थापा र नेकपा (एमाले) का मोहनराज रेग्मीले पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
मिश्र यसअघि भएका पछिल्ला दुई संसदीय निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । दुवै पटक उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

तर दुवै निर्वाचनमा उनले फरक–फरक पार्टीबाट उम्मेदवारी दिएका थिए । वैकल्पिक राजनीतिका पक्षधर मिश्र २०७२ को निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । त्यतिबेला मिश्रले १०,११८ मत पाउँदा सिंहले १०,९३६ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा मिश्रले पार्टी मात्र परिवर्तन गरेनन्, मतान्तर पनि निकै घटाए । राप्रपाका उम्मेदवार मिश्रले ७,०१८ मत ल्याउँदा नेपाली कांग्रेसका सिंहले ७,१४३ मतसहित विजय हासिल गरेका थिए । दुवैबीचको मतान्तर जम्मा १२५ मात्र थियो ।

काठमाण्डु–१ अन्तर्गत काठमाण्डु महानगरपालिकाको वडा नं. १०, ११, २९ र ३१ पर्दछन् । ४८,४८९ मतदाता रहेको यस क्षेत्रमा कसले बाजी मार्ने भन्ने कुरा फागुन २१सम्म पर्खनुपर्नेछ । तर निर्वाचनको सरगर्मी भने यस क्षेत्रमा बढिसकेको छ ।

मिश्र तेस्रो पटक चुनावी मैदानमा उत्रिँदा नेपाली कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । नेकपा (एमाले), नेकपा र रास्वपाका उम्मेदवारहरू पनि यसपटक नयाँ अनुहार नै हुन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सिंह विजयी हुँदा रास्वपाका उम्मेदवार पुकार बामले ४,११५ मत प्राप्त गरेका थिए ।

पार्टी गठन भएको छोटो समयमै प्राप्त यो मतसंख्याबाट रास्वपा सन्तुष्ट देखिएको थियो । यस क्षेत्रमा नेकपा (एमाले) र नेकपा कमजोर मानिन्छन् ।

नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने यस क्षेत्रमा मिश्र प्रतिस्पर्धामा रहँदा रास्वपाबाट दर्शना मैदानमा उत्रिनुले मिश्रको जितलाई केही असहज बनाउने विश्लेषण भइरहेको छ ।

२०७२ को निर्वाचन परिणामअनुसार नेकपा (एमाले) चौथो ठूलो मत पाउने दल भएकाले रेग्मीलाई जित हासिल गर्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । यस क्षेत्रमा नेकपाकी उम्मेदवार मेनुका भण्डारी हुन् । यस क्षेत्रमा नेकपा (एमाले) को स्थिति नेकपाभन्दा बलियो मानिन्छ ।