काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग प्रसाईंसँ २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसबापत पार्टीलाई बुझाउनुपर्ने भनेर २ करोड रुपैयाँ मागेको अडियोमा प्रष्ट सुनिएको छ ।
उक्त अडियो सार्वजनिक भएपछि रास्वपामा खैलाबैला मच्चिएको हो । अडियोमा श्रेष्ठले आफूहरूको भागमा स्वास्थ्य मन्त्रालय पर्ने र मन्त्रीका लागि पार्टी अध्यक्ष रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने बताएका थिए ।
आफूसँग पैसा नभएको बताउँदै उनले अहिले एक करोड जति दिँदा हुने र एक करोडको चेक दिँदा पनि हुने बताएका थिए। त्यसको जवाफमा प्रसाईंले आफूले दुई करोड उपलब्ध गराउने बताएका थिए । दुई करोड पार्टी सभापति रवि लामिछानेलाई बुझाए आफूलाई मन्त्री बनाउने ती सांसदले दुर्गा प्रसाईंसँग भनाइ छ ।
‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर , मन्त्री पनि बन्नुपर्यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो । रवि सर देखा पर्नुभएको छैन, बाहिरका २ ३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’, प्रसाईंसँगको सम्वादमा सांसद श्रेष्ठले भनेका छन् ।
अडियो एमाले र माओवादी गठबन्धन सरकारमा रास्वपाले स्वास्थ्य मन्त्रालय दाबी गरेको समयको हो । प्रसाईंसँग पैसा माग्ने श्रेष्ठ रास्वपाका समानुपातिक सांसद हुन् । ४६ वर्षीय उनी कास्कीका चिकित्सक हुन्। उनलाई रास्वपाले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा राखेको थियो ।
दुर्गा प्रसाईंसँग आर्थिक सहयोग माग गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई निलम्बन गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । ‘उहाँलाई एक साताका लागि निलम्बन गरिएको छ। यसबारे थप अनुसन्धान पार्टीको अनुशासन समितिले गर्छ’ ढकालले भने ।




प्रतिक्रिया