काठमाडौं – राष्ट्रिय सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतामा राधेश्याम अधिकारी मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले अधिकारीलाई उक्त पदमा मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जनाएका छन् ।
जोशीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले रिक्त रहेको राष्ट्रिय सभा संसदीय दलको नेता पदमा नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्य माननीय राधेश्याम अधिकारीज्यूलाई मनोनयन गर्नु भएको छ ।’
यसअघि कांग्रेसको संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे थिए । फागुन २० गते दुई वर्षे कार्यकाल सकिएसँगै पाण्डे राष्ट्रिय सभाबाट बिदा भएका छन् ।




प्रतिक्रिया