काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटै युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा चार्ज गरिएको छ ।
आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब १५ दिन परीक्षण उत्पादन गरिनेछ । परीक्षण सफल भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुनेछ ।
राहुघाट राष्ट्रिय प्रणालीमा जोडिएसँगै भोटेकोशी बाढीले त्रिशुली करिडोरमा आयोजना तहसनहस भएर विद्युत प्रणलीमा परेको चाप केही कम हुने अपेक्षा गरिएको छ ।
भोटेकोशी बाढीबाट करिब ४ सय ५० वाट क्षमताका १२ जलविद्युत् आयोजना बन्द भएका छन् ।
राहुघाटबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान छ ।
कुल वार्षिक उत्पादनमध्ये करिब ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुनेछ ।
विद्युत्को माग उच्च हुने साँझको समयमा आयोजनालाई दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाम र पिक समयको माग व्यवस्थापनमा योगदान पुग्ने प्राधिकरणले जनाएको छ ।
रघुगंगा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी, बाढीलगायतका चुनौतीका बाबजुद आयोजना निर्माण सम्पन्न गरिएको बताए ।
आयोजनाको ब्याजबाहेक अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ रहेको छ । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र भारतको एक्जिम बैंकको लाइन अफ क्रेडिटअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणबाट आयोजनाको वित्तीय व्यवस्थापन गरिएको हो ।
राहुघाट आयोजनाको प्रारम्भिक क्षमता ३२ मेगावाट थियो । सुरुमा नेपाल विद्युत् प्राधिकरण आफैंले निर्माण थालेको आयोजनाको निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनपछि ठेक्का रद्द गरिएको थियो ।
त्यसपछि क्षमता बढाएर ४० मेगावाट कायम गरी प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्ने निर्णय भएको थियो ।
आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल कामका लागि भारतको जयप्रकाश एसोसिएट्स लिमिटेडसँग ५ मंसिर २०७४ मा ठेक्का सम्झौता गरिएको थियो ।
इलेक्ट्रोमेकानिकलतर्फको कामका लागि भारत हेभी इलेक्ट्रिकल लिमिटेडसँग २८ असोज २०७६ मा सम्झौता भएको थियो । निर्माणको सुपरीवेक्षण वाप्कोस लिमिटेड, भारतले गरेको हो ।




प्रतिक्रिया