राहदानी छिटो बनाइदिने नाममा बिचौलिया सक्रिय, ८ जना पक्राउ

राहदानी छिटो बनाइदिने नाममा बिचौलिया सक्रिय, ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राहदानी छिटो बनाइदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम असुलेर हैरानी गर्ने बिचौलियाहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको छ ।

राहदानी विभाग त्रिपुरेश्वरको मुख्य गेट बाहिर गैरकानूनी रूपमा बिचौलिया सक्रिय रहेको भन्ने विशेष सूचनाका आधारमा मंगलबार खटिएको टोलीले घटनास्थलमै संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

यी बिचौलियाहरूले सेवाग्राहीलाई छिटो सेवाको आश देखाइ रकम असुल्ने मात्र होइन, विभागका कर्मचारीको नियमित कामकारबाहीमा समेत अवरोध पुर्‍याउँदै आएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डुमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरूमा काठमाण्डु, ललितपुर, सिन्धुपाल्चोक, पाँचथर, दोलखा, सुर्खेत र रामेछापका स्थायी वासिन्दा गरी ८ जना छन् । उनीहरू हाल काठमाण्डु उपत्यकाको विभिन्न ठाउँमा बस्दै आएका थिए ।

पक्राउ परेका २६ वर्षीय सञ्जय आङ्देम्बे, ३२ वर्षीय ख्याम बहादुर श्रेष्ठ, २५ वर्षीय प्रेमबहादुर लामा, १८ वर्षीय भगवान तामाङ, २९ वर्षीय टेकबहादुर सुनार, ३० वर्षीय साजन श्रेष्ठ, ३८ वर्षीय जिवन लामा र ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई राहदानी विभाग बाहिर अवैध तरिकाले सेवाग्राही झुक्याउने प्रयत्न गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

बिचौलिया सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।