राहुल ल्हासामा, २२ घन्टा काठमाडौंमा के-के गरे ?

राहुल ल्हासामा, २२ घन्टा काठमाडौंमा के-के गरे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी २२ घन्टा काठमाडौंमा रहेर तिब्बतको ल्हासा प्रस्थान गरेका छन् । शुक्रबार काठमाडौं आएका गान्धी शनिबार दिउँसो ल्हासा प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन चेकजाँच गराएका उनी एयर चाइनाको नियमित उडानबाट ल्हासा उडेका हुन् । नितान्त धार्मिक भ्रमणमा आएका उनी आएर तिब्बत गएको धेरैले थाहा पाएनन् ।

उनी नेपालगन्जबाट हिल्सा हुँदै ल्हासा जाने चर्चा चलेको थियो । त्यसैले शनिबार बिहान नेपालगन्जमा सञ्चारकर्मी राहुलको तस्बिर खिच्न प्रतीक्षारत थिए । काठमाडौंस्थित डोमेस्टिक एयरपोर्टमा पनि बिहानैदेखि फोटो पत्रकार कुरिरहेका थिए । बिहान १० बजेतिर प्रहरी स्रोतबाट जानकारी आयो, राहुल सीधै ल्हासा जाने भए ।

त्यसपछि पत्ता लाग्यो, राहुल एयर चाइनाको दिउँसोको उडानबाट ल्हासा हुँदै मानसरोवर जानेछन् । सुरक्षासम्बद्ध स्रोतका अनुसार गान्धीको यो पूर्वनिर्धारित कार्यक्रम हो । उनको इच्छाअनुसार रुट गोप्य राखिएको हो । उनी आउनुअघि भारतको स्पेसल प्रोटेक्सन ग्रुप ९एसपिजी०ले सुरक्षाजाँच गरिसकेको थियो ।

कूटनीतिक राहदानी, साधारण यात्रा
अध्यागमन स्रोतका अनुसार डी ११२६६५० नम्बरको कूटनीतिक राहदानीमा गान्धी आएका थिए । नयाँ पत्रिकालाई प्राप्त राहदानीको फोटोकपीअनुसार उनको राहदानी अगस्ट २९ मा जारी भएको छ । ३१ मे २०१९ सम्म राहदानीको म्याद छ । राहदानीमा उनको जन्ममिति १९ जुन १९७० तथा जन्मस्थान नयाँदिल्ली उल्लेख छ ।

पहिल्यै तय थियो काठमाडौं–ल्हासा उडान
सुरक्षा र यातायातका कारण उनी यसअघि नै काठमाडौंबाट सीधै ल्हासासम्म जाने निर्णयमा पुगेका थिए । हिल्साको बाटो सुरक्षित नभएको र नेपालगन्ज हुँदै जान सुरक्षाका हिसाबले उपयुक्त नहुने सुरक्षा निकायले ब्रिफिङ गरेको थियो । दिल्लीबाट सीधै ल्हासा उडान छैन । उनले सिचुआन वा साङघाई भएर ल्हासा जानुपर्ने हुन्थ्यो । सुरक्षा निकायको सुझाबका आधारमा गान्धीले दिल्लीबाट डेढ घन्टामा काठमाडौं र यहाँबाट १ घन्टा २० मिनेटमा ल्हासा पुग्ने छोटो बाटो रोजेका हुन् । उनको यात्रामा आकस्मिक फेरबदल थिएन ।

हिल्सामा यस वर्ष मौसम खराबीका कारण पाँच सय भारतीय तीर्थयात्रीलाई उद्धार गर्नुपरेको थियो । छोटो समयमा पुगिने र गोप्यता कायम हुने निष्कर्षसहित गान्धीले मानसरोवर जान नेपालको बाटो रोजेका हुन् । उनी मानसरोवरबाट नेपाल हुँदै भारत फर्किने सम्भावना रहेको भनिए पनि पुष्टि हुन सकेको छैन ।

गान्धी शनिबार अपराह्न ल्हासा पुगेका छन् । सुरुमा मानसरोवरनजिकैको सैन्य बेसक्याम्पसम्म हेलिकोप्टरमा र त्यसपछि गाडीमा उनको यात्रा हुनेछ । जानकार स्रोतका अनुसार उनलाई तिब्बत सरकारका अधिकारीले ल्हासा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनी आइतबार सडकमार्ग हुँदै कैलाश मानसरोवरतर्फ प्रस्थान गर्नेछन् ।

ट्याक्सी छाडेर मारुती गाडी
दिल्लीबाट पौने १२ बजे प्रस्थान गरेका गान्धी शुक्रबार इन्डिगो एयरको उडानबाट अपराह्न पौने २ बजे काठमाडौं विमानस्थलमा ओर्लेका थिए । ‘लो प्रोफाइल मेन्टेन’ गर्दै उनी इन्डिगोबाट आएको बुझिएको छ । विमानस्थलबाट र्‍याडिसन पुगेका गान्धीका लागि कोठा बुकिङ भइसकेको थियो । तर, उनको नाममा होइन । उनको साथमा दुईजना भारतीय थिए । उनीहरू सादा भेषमा आएका सुरक्षाकर्मी हुन् कि सहयोगी भन्ने खुलेको छैन ।

त्यहाँबाट उनी ट्याक्सी लिएर बाहिरिन लागेका थिए । तर, एकजना प्रहरी अधिकारीले मारुती गाडी व्यवस्था गरेर होटेल र्‍याडिसन पुर्‍याएका थिए । सुरुमा गान्धीले मारुतीमा जान अस्वीकार गरे । प्रहरी स्रोतका अनुसार गान्धीको भनाइ थियो, ‘यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो । मलाई तपाईंहरूको सहयोग चाहिँदैन । ट्याक्सीमा म आफैँ जान्छु ।’ तर, प्रहरीको अनुरोधमा गान्धीले निजी गाडी प्रयोग गरे । टिसर्ट र जिन्स पाइन्टमा आएका राहुल त्यही पोसाकमा ल्हासा प्रस्थान गरे । शुक्रबार आएकै गाडीले उनलाई होटेल र्‍याडिसनबाट विमानस्थल पुर्‍याएको थियो । दिल्लीस्थित कंग्रेस स्रोतका अनुसार गान्धी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पनि साधारण प्रवेशद्वारबाट प्रवेश गरेका थिए।

बौद्ध स्तुपा दर्शनदेखि नेवारी भोजन
गान्धीले शुक्रबार साँझ लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खाएका थिए । काठमाडौंका एक रैथाने मित्रसँग उनले खाजा खाएका थिए । शुक्रबार राति उनी काठमाडौंका एक स्थानीय मारवाडी व्यवसायीसँग बौद्धनाथ स्तुपा घुमघाम गरेका थिए ।

उनी राति पाटन र स्वयम्भू पनि पुगेका थिए । बौद्ध स्तुपामा गान्धीले आफ्ना साथी र परिवारसँग तस्बिर खिचाएका थिए । बौद्धको एउटा रेस्टुरेन्टमा मारवाडी परिवारसँगै बसेर उनले पिज्जा खाएको प्रहरी स्रोतले बतायो । तर, हिँडिसकेपछि मात्रै होटेलवालाले राहुल गान्धी हुन् भन्ने थाहा पाएका थिए ।

धर्मराजनीतिक मिसन
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अपराह्न ५ बजेतिर आफूलाई शिवभक्तका रूपमा परिचित गराउँदै २० मिनेट लामो धार्मिक भाषण गरिरहँदा राहुल गान्धी लाजिम्पाटस्थित होटेल र्‍याडिसनमा थिए । तर, मोदीले पशुपतिनाथमा भाषण गर्नुभन्दा पहिला गान्धीको अफिसियल ट्विटरमा कैलाश हिमालको तस्बिरसहित उपनिषद्मा उल्लेखित ‘तमसो मा ज्योतिर्गमय‘’ लेखिएको थियो । मोदी र गान्धीको भेट भएन, तर शुक्रबार ६ घन्टा उनीहरू दुवै नेपाली भूमिमा थिए । गान्धी पौने २ बजे आए भने मोदी साढे ८ बजे दिल्लीतर्फ प्रस्थान गरे ।

कंग्रेसका प्रवक्ता रणदीपसिंह सुर्जेवालाले शुक्रबार पाँच ट्विटमार्फत गान्धीको कैलाशयात्राको चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीको चर्को आलोचना गरे । उनले सुरुमा धार्मिक र आध्यात्मिक यात्राका क्रममा गान्धी कैलाश मानसरोवर यात्रामा लागेको सार्वजनिक गरे । कर्नाटक चुनावताका वैशाख अन्तिम साता गान्धी हवाई दुर्घटनाबाट बालबाल बचेका वेला कैलाश मानसरोवर जाने भाकल गरेको सुर्जेवालाले उल्लेख गरेका छन् ।

संयोगवश कर्नाटक राज्यको चुनाव हुँदा प्रधानमन्त्री मोदीले २९ वैशाखमा मुक्तिनाथ मन्दिरमा पूजा गरेका थिए । भारतको दूरदर्शन टेलिभिजनले मोदीबाट भएको पूजाको प्रत्यक्ष प्रसारण गरेको थियो । मोदीले पूजा गरेको नभएर भोट मागेको व्याख्या भारतमा त्यसवेला भएको थियो । अहिले धर्मका विषयमा भाजपा र कांग्रेसबीच बहस चलिरहेको छ ।

‘दुर्भाग्यवश एक असफल प्रधानमन्त्री र भाजपाले संकुचित एवं द्वेषपूर्ण मानसिकताका आधारमा राहुलजीको यो कैलाश पर्वतको पवित्र यात्राको मजाक उडाएका छन् । यस पावन यात्रालाई हनिमुन टुरिज्म घोषित गरेर भाजपाले हिन्दू धर्मको प्रत्येक सिद्धान्त एवं आस्थामाथि गहिरो प्रहार गरेको छ,’ कंग्रेस प्रवक्ता सुर्जेवालाको ट्विटमा उल्लेख छ ।

मोदीको गत अप्रिलको वुहान यात्रा र चिनियाँ राष्ट्रपतिसँग भएको अनौपचारिक भेटलाई पनि विफल भन्दै कंग्रेस प्रवक्ताले अध्यात्म र तीर्थयात्राको महत्व बिर्सेको, कैलाशको महत्वमाथि तल्लोस्तरको राजनीति गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘भोलेबाबाले भाजपालाई सद्बुद्धि देऊन् ।’

भारतीय सञ्चारमाध्यमले शनिबार दिएको समाचारअनुसार चिनियाँ राजदूत लुओ चाओहुईले भारतीय विदेश मन्त्रालयलाई चिठी लेख्दै चिनियाँ पाहुना गान्धीलाई सेरेमोनियल लन्ज उपलब्ध गराउन आग्रह गरेका थिए । यो खबर सार्वजनिक भएसँगै भाजपाका प्रवक्ता संवित पात्राले ‘भारतीय गान्धी हुन् कि चिनियाँ गान्धी’ भन्दै गान्धीको आलोचना गरेका छन् । मोदी र गान्धीबीच शिवभक्त बन्ने होडबाजीलाई सन् २०१९ मा हुने लोकसभाको भोटको राजनीतिक प्रतिस्पर्धाका रूपमा हेर्न थालिएको छ । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।